भीम रावललाई भित्तामा पुर्याउने केपी ओलीको खेल सुरु
भीम रावललाई भित्तामा पुर्याउने केपी ओलीको खेल सुरु

अध्यक्ष केपी ओलीले रावल र भट्टसहित केही नेताहरूलाई आफ्नो निवासमा बोलाएर प्रदेश इन्चार्ज भट्ट नै भएको भनेका खबरहरू दुई दिनअघि सार्वजनिक भएका थिए ।

    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

बेल संचार

काठमाडौं

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले इन्चार्ज कसलाई मान्ने भन्नेमा कार्यकर्तामा पनि अन्योलता देखिएको छ ।

अध्यक्ष केपी ओलीले रावल र भट्टसहित केही नेताहरूलाई आफ्नो निवासमा बोलाएर प्रदेश इन्चार्ज भट्ट नै भएको भनेका खबरहरू दुई दिनअघि सार्वजनिक भएका थिए । योसँगै प्रदेश इन्चार्जको विवाद सतहमा देखिएको छ । सुदूरपश्चिम पुगेका दुवै नेताले आफू नै प्रदेश इन्चार्ज भएको दाबी गरेका छन् ।

कञ्चनपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै एमालेको सुदूरपश्चिम इन्चार्ज भएको दाबी गरे । पार्टीले आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भन्दै भ्रममा नपर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । अध्यक्ष ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई इन्चार्ज, कर्ण थापालाई अध्यक्ष र भीम रावललाई सहजीकरणको संयोजनको जिम्मेवारी तोकेको भट्टको दाबी छ ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पदको बार्गेनिङ गर्नेहरुलाई एमालेमा ठाउँ नहुने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका क्रममा  गृहजिल्ला झापामा ओलीले पदका लागि मरिमेट्नेहरु एमाले हुनै नसक्ने बताउनुभयो । आवश्यकताका आधारमा जिम्मेवारी लिने कुरा स्वभाविक भए पनि पदका लागि मरिहत्ते गर्ने व्यक्ति एमालेको नेता हुन नसक्ने भन्दै उहाँले अब पार्टीमा त्यस्तो विचारले स्थान नपाउने चेतावनी पनि दिनुभयो ।यो चेतावनी भिम रावल प्रति लक्षित थियो।

एमालेमा तेस्रोधार भनिएका भीम रावल,घनश्याम भुसाललगायतका नेताहरुले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध नहुँदा समस्या भएको बताइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो । १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ मा फर्किंदा रावल स्वतः सुदूरपश्चिमको इञ्चार्ज हुने भए पनि ओलीको अनिच्छाका कारण रोकिएको छ । यसलाई लिएर विवाद बढेपछि  बालकोटमा ओली र रावलबीच छलफल भएको थियो ।

१० बुँदे कार्यान्वयन नभए रावलले एमाले छोड्नेसम्मको तयारीका साथ आफू निकट नेताहरुसँग छलफल गरिरहेको भनिएका बेला ओलीले रावलको नाम नलिइकनै पदका लागि पार्टी छोड्नेहरु एमाले हुनै नसक्ने बताउनुभएको हो ।

रावलले भने एमाले एकताका लागि भएको १० बुँदे सहमतिपछि पार्टी २ जेठ २०७५अघिको अवस्थामा फर्केकाले प्रदेश संयोजक स्वतः आफू भएको दाबी  गर्नुभयो।   मंगलबार नै धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टीको सुदूरपश्चिम संयोजक आफू भएको दाबी गर्दै संयोजकबाट हटाइएको हल्ला प्रायोजित भएको बताए ।

१० बुँदे सहमति कार्यान्वयनलाई लिएर विवाद भइरहेका बेला ओलीले अहिलेको एमालेलाई नेकपाकै निरन्तरताको रुपमा बुझ्नुपर्नेमा जोड पनि दिनुभयो । तत्कालीन नेकपाको मूल हिस्सा आफैंसँग रहेको र माओवादीका धेरै नेता–कार्यकर्ता एमालेमै बसेको पनि दाबी गर्नुभयो ।

ओलीले एमालेमा अब गुटबन्दी नचल्ने घोषणा पनि गर्नुभयो । भविष्यमा एमालेलाई विचारमा आधारित सुदृढ,एकताबद्ध र गतिशील पार्टीका रुपमा विकास गर्ने भन्दै उहाँले गुटबन्दी स्वीकार नहुने बताउनुभएको हो । विगतमा जस्तो अराजकता, अनुशासनहीनता अब सह्य नहुने भन्दै उहाँले पार्टी हित विपरित अब कुनै पनि सम्झौता नगरिने प्रष्ट पार्नुभयो ।

एमालेमा विवाद उत्कर्षमा पुग्दासम्म रावल वरिष्ठ नेता माधव नेपाल समूहमा हुनुहुन्थ्यो  । ओलीको खरो विरोधीका रूपमा चिनिएका रावलले पार्टी विभाजन हुँदा भने एमालेमै रहने निर्णय गरे पनि  नेपाल पक्ष बलियो रहेका कारण एमाले विभाजनअघिसम्म सुदूरपश्चिममा रावलको वर्चस्व थियो । पार्टीमा एकलौटी गरेका रावलसँग प्रदेशका ओलीनिकट शीर्ष नेताहरूसँग विगतदेखि नै तिक्त सम्बन्ध रहँदै आएको छ ।

फरक समूहमा रहेका वेला आफूहरूमाथि रावलले शक्तिमा हुँदा गरेको असहिष्णु व्यवहारका कारण ओली पक्षका नेताहरू उनलाई इन्चार्जको जिम्मेवारी दिन नहुने लबिङमा छन् । उनीनिकट यहाँका अधिकांश नेता, कार्यकर्ता एकीकृत समाजवादीमा लागेपछि प्रदेशमा कमजोर देखिएका छन् ।

केहि समय सम्म मौन देखिएको एमाले विवाद रावलको केस पछि फेरि सतहमा आएको छ।  रावल तातिएर सतहमा आएपछि ओली निकटका नेताहरु रावल लाइ साइजमा राख्नु पर्ने बताइरहेका छन्। यो अवस्थाले रावल लाइ अप्ठ्यारो पर्ने अवस्था  आएको छ।

साताकाे चर्चित
सम्बन्धित