विष्णु माझीको जीवनको रहस्य के हो ?
विष्णु माझीको जीवनको रहस्य के हो ?

हिट तर गुमनाम । गायिका विष्णु माझीको जीवनलाई लिएर सबैतिर चासो । तर, कतै नदेखिने उनको अनुहार । विष्णुको गुमनाम जीवनलाई लिएर हरेक वर्ष गरिने चिन्ता । यहि चिन्ताले फेरि एकपटक नेपाल प्रहरीको टोली विष्णुको माईती घरमा पुगेको छ ।

    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

हिट तर गुमनाम । गायिका विष्णु माझीको जीवनलाई लिएर सबैतिर चासो । तर, कतै नदेखिने उनको अनुहार । विष्णुको गुमनाम जीवनलाई लिएर हरेक वर्ष गरिने चिन्ता । यहि चिन्ताले फेरि एकपटक नेपाल प्रहरीको टोली विष्णुको माईती घरमा पुगेको छ ।

यो वर्षको तीजमा विष्णुले गाएको ‘चरी जेलैमा’ गीत निक्कै लोकप्रिय बन्यो । गीतको भाव र विष्णुको जीवनलाई तुलना गरेर निक्कै बहस भयो । सामाजिक सञ्जालदेखि मिडियामा उनको अवस्थाबारे निक्कै चासो देखाए । विष्णुको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले समेत चासो देखाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे बुुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे बुझ्न माइती घरमा टोली पठाएको थियो ।

विष्णुको माइती स्याङ्जाको चापाकोट पुगेको प्रहरी टोलीले लामो समयदेखि विष्णु माइत नगएको बताएको छ । दुई वर्षअघि पनि विष्णु माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारीलाई स्याङजा प्रशासनले बोलाएको थियो ।

विष्णुले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिँडडुल नगरेको बताएकी थिइन् ।

त्यसपछि विष्णुका बारेमा खोजी गर्नेहरु मौन बसेका थिए । यसपटक उनको गीत सार्वजनिक भएपछि पुनः उनको अवस्थाका बारेमा खोजि गरिएको हो । उनको खबर बुझ्न प्रहरी उनको माइतीमा पुगेको खबर सार्वजनिक भएपछि प्रहरीको पनि आलोचना सुरु भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रहरीलाई सुन्दरमणिको घरमा जान आग्रह गरेका छन् ।

विष्णुका बुवा आमा बितिसकेकाले माइतीमा कोही नभेटी प्रहरी फर्किएको छ । वरपर सोधेर माइती आएकी छैनन् भन्दा अर्को सूचना प्रहरीले प्राप्त गर्न सकेन । यो सूचनाका लागि प्रहरी विष्णुको माइती जानु पर्ने जरुरी नहरेको, उनी माइत नगएको लगभग सबैलाई थाहा भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।
उनी साँच्चै अन्यायमा परेको भएपनि पीडित स्वयम्ले उजुरी नगरी कारबाही अगाडि बढाउन नमिल्ने प्रहरीले बताउँदै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा थुप्रै हिट गीत दिएकी गायिका सार्वजनिक नहुँदा लामो समयदेखि उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा चल्दै आएको छ । बेला बेला बल्झिरहने तर कहिल्यै नसुल्झने विष्णुको जीवनको रहस्य के हो ?  कसैलाई थाहा छैन । उनी कहिले र कसरी सार्वजनिक हुन्छ धेरैले कुरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित