ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाक्बीले शिष्टाचार भेट गर्नुभएको छ ।

    • Bell Sanchar

    • १ आश्विन २०७८, शुक्रबार

काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाक्बीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।     
    
 सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताउनुभयो । उहाँले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गर्नुभयो । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसाललाई यूएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।    
    
 जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गर्नुभयो । उहाँले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताउनुभयो । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।    
    
 उहाँले कोभिड–१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएयी सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।

साताकाे चर्चित
सम्बन्धित