पर्यटन व्यवसाय निर्बाध रुपमा संचालन गर्न सरकारसँग माग
पर्यटन व्यवसाय निर्बाध रुपमा संचालन गर्न सरकारसँग माग
    • Bell Sanchar

    • २९ भाद्र २०७८, मंगलवार

विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आबद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालनका लागि वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

काठमाडौंमा आइतबार पत्रकारसँगको भेटमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएसन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त रुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिजा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धन, विकास र सहज रुपमा सञ्चालन गर्न सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताए ।

नाटाका अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यवसायीलाई हाउगुजी बनाएको आरोप लगाए । त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाउँदै गुरागाईंले अब पनि पर्यटन व्यवसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिए ।

हानकी अध्यक्ष सिर्जना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताइन् । उनले पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताइन् ।

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्र्याउनुपर्ने बताए । उनले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिनाक्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्ने बताए ।

उनले पर्यटन उद्योगलाई बचाउन र फेरि लयमा फर्काउनका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । पूर्वअध्यक्ष जोशीले नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समुदायहरुले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकोले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरी जारी गर्नुपर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित