साताको शेयर बजारः ३८ अर्बको कारोबार
साताको शेयर बजारः ३८ अर्बको कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो ।

    • Bell Sanchar

    • २ आश्विन २०७८, शनिबार

काठमाडौँ, २ असोज  
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो ।

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । तीन दिन रु नौ अर्बको कारोबार भए पनि दुई दिन रु पाँच अर्बमा सीमित भयो ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

साताकाे चर्चित
सम्बन्धित