हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती
हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ ।

    • Bell Sanchar

    • ४ आश्विन २०७८, सोमबार

खलङ्गा, ४ असोज
कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हँुदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ ।

सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने गरेकोे छ । सिम्लेखोला पुल नजिकै हिलोले उकालोमा गाडी नआउँदा घण्टौँ लगाएर ट्र्याक्टरले उद्धार गर्ने गरे पनि यात्रुले दिनभर कुर्नुपरेको जुम्लादेखि नेपालगञ्ज जान लाग्नुभएकी यात्रु ममता नेपालीले बताउनुभयो ।

सिम्लेखोलामा एउटा गाडी चढ्न दुई घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ । बाटो बिग्रेर ठूला सवारी साधन तथा मालवाहक ट्रकलाई झन समस्या भइरहेको छ । सम्बन्धित निकायको ध्यान नजाँदा यो समस्या खडा भएको यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

निर्माण व्यवसायीले काम गरेन

निर्माण व्यवसायीले समयमा काम नगर्दा सो क्षेत्रमा सवारी साधन र मालवाहक गाडीले निकै धेरै दुःख पाउने गरेका छन् । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सो क्षेत्रसहित दुई÷तीन स्थानमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले समयमै काम नगरीदिँदा यो समस्या भइरहेको छ ।

कालीकोटका ठेकेदार मानबहादुर शाहीले ठेक्का लिएको उक्त क्षेत्रमा अहिलेसम्म काम गरेको छैन । काम समयमा नगरेको भन्दै कालोसूचीमा राख्नेसमेत कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा करिब पुल धमाधम बनिरहेका समयमा सानातिना हिलाम्मे क्षेत्रले सकस बनाउँदै आएका छन् ।   रासस

साताकाे चर्चित
सम्बन्धित