गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने
गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

    • Bell Sanchar

    • ४ आश्विन २०७८, सोमबार

 काठमाडौं

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् ।

यही असोज ९ देखि २५ गतेसम्म हुने ईपीएलका लागि काठमाडौंले यसअघि नै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरिसकेको छ । गुर्बाज केही दिनमै काठमाडौं आइपुग्ने जनाइएको छ । गुर्बाज अफगानिस्तानका लागि ओडीआई डेब्युमै शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

२० वर्षीय गुर्बाजले अफगानिस्तानका लागि ३ ओडीआई र १३ टी–२०आई म्याच खेलेका छन् । यसै वर्ष जनवरीमा आयरल्याण्डविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १२७ रन बनाएका थिए ।

उनले २०१९ मा जिम्बावेविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । गुर्बाजले अहिलेसम्म ४८ टी–२० म्याच खेल्दा एक हजार १८६ रन बनाएका छन् ।

यस पटक काठमाडौंको कप्तानी नेपालका ग्लोबल टी–२० सुपरस्टार सन्दीप लामिछानेले गर्दैछन् । यस्तै प्रशिक्षकमा काठमाडौंले कलाम अलीलाई नियुक्त गरिसकेको छ ।

सन्दीपसँगै राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि काठमाडौंबाट खेल्नेछन् । तर ओमान टूरमा घाइते भएका दीपेन्द्रले ईपीएल खेल्ने नखेल्ने टुंगो लागिसकेको छैन । यस्तै ओमान टूरमा सिनियर टिममा डेब्यु गरेका १७ वर्षीय फास्ट बलर गुल्शन झा पनि काठमाडौंमा अनुबन्ध भइसकेका छन् ।

काठमाडौंमा राष्ट्रिय टिमबाट खेलिसकेका सुवास खकुरेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, राजु रिजालदेखि अमित श्रेष्ठ, अमर सिंह राउटेला लगायत खेलाडी छन् ।

अफ्रिदी र गुर्बाजको आगमनले काठमाडौंको टिम अझै बलियो बनेको छ ।

साताकाे चर्चित
सम्बन्धित