सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी
सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ ।

    • Bell Sanchar

    • ५ आश्विन २०७८, मंगलवार

बनेपा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर/गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।

सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, दलित मुक्ति समाज, अखिल नेपाल महिला सङ्घलगायत जनवर्गीय सङ्गठन निर्माण गरेको हो । पार्टी र जनवर्गीय सङ्गठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले बताउनुभयो ।

कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र कार्यदिशामा चल्ने भए पनि यसअघि एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी चलाउने र एकल ढङ्गले निर्णय गर्दै उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेको अध्यक्ष वाइबाले बताउनुभयो ।

एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले पार्टीको विधान, नीति, सिद्धान्त र विधिअनुसार चल्नुपर्नेमा एउटा व्यक्तिको अहङ्कार र निर्देशनमा चलाउन खोजेको कारण नयाँ पार्टी स्थापना गरी अघि बढ्न बाध्य भएको बताउनुभयो ।

यसअघि भदौ २२ गते एमालेबाट विभाजित भएका समाजवादीका काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये ५६ जनाले नेकपा (एस)मा रहेको सनाखत गरेका छन् । काभ्रेपलाञ्चोकको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सो पार्टीमा रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए । सो पार्टीका जिल्ला अध्यक्ष वाइबाको अध्यक्षतामा भदौ १७ गते जिल्ला कमिटीको बैठक बसेर आफू नेतृत्वको १५१ सदस्यीय नेकपा (एस) जिल्ला समितिको घोषणा गरेर अहिले जिल्लाका नगर÷गाउँपालिका हुँदै वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित