नेकपा (एकीकृत समाजवादी)को बैठक सुरु
नेकपा (एकीकृत समाजवादी)को बैठक सुरु

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।          

    • Bell Sanchar

    • ५ आश्विन २०७८, मंगलवार

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज यहाँ सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो । “सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिता र राजनीतिक सङ्गठन प्रवद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ । कार्यसमितिमा हाल ११३ केन्द्रीय सदस्य छन् ।

अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इन्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ ।रासस

साताकाे चर्चित
सम्बन्धित