बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने
बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने

बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । 

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

बाँके
बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले जानकारी दिनुभयो । नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत् सो बिषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आवेदन माग गरेका छौँ । आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ ।”

अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा बारबार्दिया नगरपालिका घोषित भएको हो । त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पछाडि पारिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ । जनतासँग नगरप्रमुख, विद्यार्थीसँग नगरप्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शत्प्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।

त्यस्तैगरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रमुख गोसाईंले भन्नुभयो, “घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कपीकिताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सयजना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ ।”

नगरपालिकाले मुक्तकमैया, सुकुम्बासी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हो । बारबर्दिया नगरपालिकाले शहीद विष्णु धनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । वन विज्ञान विषयका लागि अनुमति पाइसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, आठ जनाले ७५ र तीन जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट थप ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेको नगरपालिकाले जनाएको छ । पढ्नकै लागि पालिकाका विद्यार्थी बाहिर जान नपरोस् भन्ने हेतुले नगरपालिका तथा सङ्घीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको प्रमुख गोसार्ईंले भन्नुभयो । पालिकाले ११७ जना शिक्षक व्यवस्थापन र प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ । कूल बालबालिकामध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।रासस

साताकाे चर्चित
सम्बन्धित