जग्गा विवादका कारण हत्या
जग्गा विवादका कारण हत्या

देवरसँगको जग्गा विवादका कारण एक महिलाको हत्यामा संलग्‍न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

काँकडभिट्टा

देवरसँगको जग्गा विवादका कारण एक महिलाको हत्यामा संलग्‍न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलनमार्फत आरोपीलाई सार्वजनिक गरेको हो ।झापा गाउँपालिका-१ माइती घर भई भारत विहारको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने करिब ५० वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न भएको आरोपमा मृतकको भान्जा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षीय ऐतवार सोरेन, मृतकको सौताको छोरो झापा गाउँपालिका-१ बस्ने ३७ वर्षीय लखन टुडु सतार, सोही स्थान बस्ने ५६ वर्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २४ गते राति धोन्नी टुडुको माईखोला किनारमा धारिलो हतियारको प्रयोगबाट हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको भोलिपल्ट आधा शरीरसहितको शव फेला पारेको थियो । हत्याका मुख्य योजनाकार भनिएका मृतकका देबर किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ४५ वर्षीय हेमरम मण्डल (सतार) भने फरार छन् । उनकै योजना अनुसार महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकका छोराछोरी कोही छैनन् । उनको हत्या भएको १५ दिनअघि मात्रै पतिको मृत्यु भएको थियो ।‘हत्याको मुख्य कारण चाहीँ देवरसँगको जग्गा विवाद देखिन्छ, ’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले भने ।

 

साताकाे चर्चित
सम्बन्धित