एडीबीको प्रक्षेपण यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म
एडीबीको प्रक्षेपण यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म

नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

काठमाडौँ

नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख छ ।चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारले गरेको छ ।

उक्त प्रक्षेपणको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने अनुमान बहुराष्ट्रिय निकायको छ । एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताएका छन् ।यो आर्थिक सुधारका लागि समेत महत्वपूर्ण हुने उनको भनाइ छ ।

कोभिड-१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीले जीडीपीमा योगदान गर्नेछ । पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्यांक आएको छ । यसले घरेलु उत्पादन बढेको संकेत गर्ने समेत एडीबीको विश्वास छ ।

यो वर्ष सरकारको नीति समेत स्वास्थ्य सुरक्षामा बढी केन्द्रित रहेको छ ।कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्नेछ । खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले जनाएको छ ।

पर्यटक आगमनमा ८० प्रतिशत भन्दा बढीको गिरावट आएको छ । यो वर्ष यस आंकडामा सुधारको अपेक्षा छ ।होटेल रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । पर्यटकीय गतिविधि समेत खुला भएको अवस्थामा सेवा क्षेत्रले समेत आर्थिक वृद्धिमा टेवा पुर्याउन सक्ने एडीबीको भनाइ छ । यो वर्ष मुद्रास्फिति भने ५.२ प्रतिशतसम्म पुग्ने अनुमान छ । अघिल्लो आवमा मुद्रास्फिति ३.६ प्रतिशत मात्र रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित