किन भएन विकास ? सुपरीवेक्षकसँग गुनासो पोख्दैछन् जनता
किन भएन विकास ? सुपरीवेक्षकसँग गुनासो पोख्दैछन् जनता

राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत हाल भइरहेको घरपरिवारको सूचीकरणको काममा खटिएका सुपरीवेक्षकले जनताबाट आफ्नो ठाउँमा विकास किन नगरेको भन्ने प्रश्नको सामना गर्नुपरेको छ ।    

    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिम राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत हाल भइरहेको घरपरिवारको सूचीकरणको काममा खटिएका सुपरीवेक्षकले जनताबाट आफ्नो ठाउँमा विकास किन नगरेको भन्ने प्रश्नको सामना गर्नुपरेको छ । राजनीतिक दलका नेताले विगतमा दिएको अश्वासनबमोजिम आफ्नो गाउँठाउँमा विकासको काम नगरिदिएको भन्दै कतिपयले आफूहरुसमक्ष आक्रोशसमेत व्यक्त गर्ने गरेको कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा सूचीकरण गर्न खटिनुभएका सुपरीवेक्षक उपेन्द्र भट्टले बताउनुभयो । “गाउँमा विकास नगरिदिएको भन्दै नेताप्रतिको आक्रोश आफूहरुले सामना गरिरहनुपर्दा केही समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “सम्झाइबुझाइ गरेर आक्रोश शान्त पार्दै सूचीकरणको कार्य सक्ने गरेका छौँ ।” सूचीकरण कार्यमा सहयोग पु¥यादिन गरिएको आग्रह नसुने झैँ गर्ने कतिपय परिवारलाई पनि सम्झाइबुझाइ गर्नु परेको अनुभव सुपरीवेक्षकको छ । धनगढी उपमहानगरपालिका–९ मा खटिनुभएका सुपरीवेक्षक खेमराज भट्टले आफू स्थानीय व्यक्तिको घरमा पुग्दा तपाई कुन पार्टीको मान्छे हो ? भनी गरिने प्रश्नको जवाफ दिन हैरान भएको बताउनुभयो । जनगणना राष्ट्रिय कार्यक्रम रहेकाले घरपरिवारको लगत लिन आएको भनेर सम्झाउँदा पनि कतिपय परिवारले नपत्याउने गरेको उहाँको भनाइ छ । “कतिपय घर परिवारका मान्छे त मुखै खोल्न मान्दैनन्, नमस्कार गर्दा पनि फर्काउँदैनन्”, भट्टले भन्नुभयो, “तैपनि सम्बन्धित मान्छेलाई सम्झाइबुझाइ गरेर भए पनि आफ्नो काम पूरा गरेर फर्किन्छौँ ।” कतिपय परिवारका सदस्यले जनगणनाभन्दा ठूलो काम वर्षौंदेखि आफूहरुको भोग चलनमा रहेको ऐलानी जग्गा दर्ता गर्नुरहेको भन्दै जग्गा दर्ताको कामलाई प्राथमिकता दिनुपर्ने सुझाव सुपरीवेक्षकसमक्ष दिने गरेका पनि छन् । शहरी क्षेत्रको तुलनमा ग्रामीण वडाका घरपरिवारमा सूचीकरणको काम गर्न केही कठिन भइरहेको बताइएको छ । राष्ट्रिय जनगणनाका विषयमा गर्नुपर्ने जनचेतना अभिवृद्धिको काम प्रभावकारी हुन नसक्दा यस्तो समस्या देखिएको बताइएको छ । जनगणनाका बारेमा शहरका बासिन्दा जानकार रहे पनि ग्रामीण क्षेत्रका धेरै बासिन्दा जानकार नभएको देखिएको छ । सुपरीवेक्षकलाई एउटा घरको सूचीकरणसम्बन्धी फाराम भर्न पाँचदेखि १० मिनेटसम्मको समय लाग्ने गरेको छ । खटिएका कतिपय सुपरीवेक्षकले बिहान ६ बजेदेखि राति ७ बजेसम्म पनि सूचीकरणको काम गरिरहेका छन् । “असोज १८ सम्म सूचीकरणको काम सक्नुपर्ने भन्नेछ”, भट्टले भन्नुभयो, “बिहानदेखि साँझसम्म काम गर्दा आजसम्म झण्डै एक हजार घरपरिवारको सूचीकरण गर्ने काम पूरा गरिसकेको छु ।” सूचीकरणका लागि तोकिएको फाराममा घरको किसिम, अवस्था, परिवारको सङ्ख्या, घरपालुवा पशु चौपायाको सङ्ख्या लगायतको विवरण भर्ने गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत भदौ ३० देखि असोज १८ सम्म घर तथा घरपरिवारको सूचीकरण गर्ने कार्य भइरहेको छ । यस्तै कात्तिक १३ देखि १६ सम्म गणकको तालीम, र मूल गणनाको काम कत्तिक २५ देखि मङ्सिर ९ सम्म गरिने कार्यतालिका छ । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले सूचीकरणको कामको लागि देशभरि आठ हजार सुपरीवेक्षक परिचालन गरिएको जानकारी दिनुभयो । “अहिलेको जनगणनामा गणना गरिने व्यक्तिको बैंक खाता भए नभएको विवरण सङ्कलनका साथै नेपालभरि भएका घरसंरचना केकस्तो काममा प्रयोग भइरहेका छन् भन्ने विवरण पहिलो पटक सङ्कलन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक यो जनगणनामा देशमा बोलिने भाषाको हकमा पुख्र्यौली भाषाको पाटो थपिएको छ, यसअघिका जनगणनामा मातृभाषा र अन्य भाषा भन्ने विवरण मात्र सङ्कलन हुन्थ्यो ।” दार्चुलाको व्याश गाउँपालिकाको कुटी, नावी र गुञ्जी गाउँमा राज्यले वातावरण बनाएमा जनगणनाको काम गर्न सकिने जोशीले बताउनुभयो । मूल गणनाको काम सकिएको तीन महिनाभित्रमा राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा र छदेखि नौ महिनाभित्रमा पूर्ण नतिजा आउनसक्ने बताइएको छ । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । नेपाल पहिलो पटक १९६८ सालमा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो । केन्द्रीय तथ्याङ्क विभागले जनगणना सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै काम गर्दै आएको छ । पछिल्लो पटक २०६८ सालमा राष्ट्रिय जनगणना गर्दा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । देशमा नीति निर्माण, योजना तर्जुमा, विकासका योजना सञ्चालनलगायतका कामका लागि आवश्यकपर्ने यकीन तथ्याङ्कका लागि जनगणना अति आवश्यक मानिन्छ ।  सिद्धराज भट्ट

साताकाे चर्चित
सम्बन्धित