बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी
बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् ।

    • बेल संचार

    • १० आश्विन २०७८, आईतवार

मेलम्ची

गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् । अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् ।

केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् । अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् ।

प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् । यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् । टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् ।

मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उहाँले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनःनिर्माण जारी राख्नुभएको छ । अघिले हप्ताबाट उहाँ घरको माथिल्लो तलामा बस्न थाल्नुभएको छ । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाउनुभयो । “मर्मतमा मात्रै पाँच÷सात लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति खर्च हुने हो थाहा छैन”, उहाँले भन्नुभयो, “त्रासका बीच बस्न बाध्य छौँ ।” उहाँका घरकोे सटर पुरै बिग्रिएको थियो । भित्री भाग पनि कतिपय क्षतविक्षत भएका छन् भने गाह्रो चर्किएको थियो ।

झ्यालढोका पुरै फुटेका थिए । “के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै प¥यो, खोला आए पनि कहाँ जानु, त्यही भएर आफैँले पुनःनिर्माण गरेर बसेको”, उहाँले सुनाउनुभयो । दुई रोपनी खेतसमेत उहाँको बगाएको छ । ठूलो आर्थिक क्षति भए पनि उहाँले पुनःनिर्माण गरेर घर बस्न थालिसक्नुभयो । यहाँका अधिकांशले आफ्नै प्रयासमा घर मर्मत गरिरहेका छन् । इञ्जिनीयरलाई देखाएका छैनन् । घर बस्न लायक छ कि छैन भनेर अध्ययन भएको छैन ।

घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् । दुलालका अनुसार मेलम्चीका रहेका घरका आधाजति मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखेको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उहाँले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाउनुभएको छ । अझै क्षतिको विवरण आउनेक्रम छ ।

“अहिले नै बस्न हुँदैन भनेर सुझाव दिएका हौँ, तर स्थानीय आफैँ खोतलेर घर मर्मत गर्दै बस्न थालेका छन्”, अर्यालले रासससँग भन्नुभयो । हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ । यहाँको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय बाढीका कारण मुख्यगरी नगरपालिकाको वडा नं ६, १० र ११ मा ठूलो क्षति भयो ।

मेलम्ची बजारको खोला तटीय क्षेत्र तहसनहस भएको छ । आसपासका बस्ती विस्थापित छन् । नगरपालिकाले रु ५० लाख हालेर राहत तथा पुनःस्थापना कोष बनाएको र अन्य सङ्घसंस्था र समुदायलाई कोषमा रकम जम्मा गर्न आह्वानसमेत गरेको छ । बाढी र पहिराले छियाछिया पारेका मेलम्चीका तटीय बस्ती र अलिक परका गाउँले अझै पनि त्रासमा छन् । माथिल्लो क्षेत्रमा विनावर्षा पनि ठाउँठाउँमा लेदो खस्न रोकिएको छैन ।

छियाछिया पारेको पहाडबाट सुक्खा पहिरो खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिस्का छन् । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्नेक्रम अहिले पनि जारी छ । “तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड धेरै बग्न बाँकी नै छ, मेलम्ची र हेलम्बुवासी सुरक्षित छैनन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्नुहुन्छ । कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको चार तलासम्म बगर भरिएको स्थानीय सुनाउँछन् ।

त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापित अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मेलम्चीमा पुलका लागि पैसा छुट्याएको छ । खोला बढिरहेकाले काम अघि बढाउन सकिएको छैन । बस्ती पुनःस्थापनका लागि काम भइरहेको छ । घर बनाउनका लागि पहिलो किस्ता निकासा गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो तर त्यो सरकारी सानो किस्ता रकम प्रभावकारी हुने देखिँदैन ।

ठूलो तहसनहस भएकाले माथिल्लो तहदेखि नै व्यवस्थापन नगरेसम्म तल्लो तटीय क्षेत्रमा पुनःस्थापन गर्ने कार्य योजना बनिसकेको छैन । “माथिबाट कति बग्छ, कति पुरिन्छ भन्ने कुरा नै यकीन छैन, माथिल्लो तटीय क्षेत्रबाट झरेको र झर्दै गरेको गेग्य्रान तुरुन्तै खनेर हटाउन पनि सम्भव छैन, माथि नै थेग्ने गरी काम गर्ने की फाल्ने हो भन्ने कुरा अध्ययन मैै छ”, पोखरेलले भन्नुभयो । उहाँका अनुसार पुरिएका घर बस्न मिल्ने छ कि छैन भन्ने कुरा टुङ्गोमा पुगिसकेको छैन । पोखरेलले थप्नुभयो, “सम्भवतः त्यो बस्न मिल्ने अवस्थामा छैन होला, अध्ययन नगरी बस भन्ने अवस्था छैन ।

” ठ्याक्कै कुन ठाउँसम्म बस्न मिल्ने हो भन्ने यकीन भएको स्पष्ट पार्नुभयो तर स्थानीय भने बस्न थालिसकेका छन् । विज्ञले जुनसुकै बेला खोला आउनसक्ने भन्दै सचेत गराएका छन् । मेलम्चीमा खोलाको सतहभन्दा २५÷३० फिट माथिसम्म बगर भरिएको छ । मुख्यगरी गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले यहाँ तहसनहस पारेको हो । यसपाली औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भित्रिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो ।

त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो । गत वर्ष पनि सिन्धुपाल्चोक यसैगरी प्रभावित भएको जिल्ला हो । बाढीपहिराका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् । मुलुकभर यसपटक बाढी, पहिरो र डुबानबाट यो वर्ष १३४ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् । मनसुन अझै सकिएको छैन ।

यही असोज तेस्रो सातामा मनसुन बाहिरिने मिति रहेपछि कुन दिन जान्छ यकीन नभएको मौसमविद्ले बताएका छन् । यद्यपि पछिल्लो समयमा भने मनसुन कमजोर देखिएकाले घमाइलो बढेको छ ।   रासस

साताकाे चर्चित
सम्बन्धित