प्रचण्डलाई नै ‘आजित’ पार्ने कस्तो छ माओवादी केन्द्रमा गुटबन्दी ?
प्रचण्डलाई नै ‘आजित’ पार्ने कस्तो छ माओवादी केन्द्रमा गुटबन्दी ?

माओवादी केन्द्र

    • Bell Sanchar

    • ११ आश्विन २०७८, सोमबार
प्रचण्डलाई नै ‘आजित’ पार्ने कस्तो छ माओवादी केन्द्रमा गुटबन्दी ?

शनिवार दाङमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुट उपगुटबाट आजित भएको सार्वजनिक मन्तव्य दिए । उनको यो भनाइसँगै माओवादी केन्द्रमा कस्तो गुट र उपगुटले डेरा जमाएको छ ? भन्ने कौतुहलता सर्वत्र चासोको विषय बनेको छ ।

पछिल्लो समय माओवादीमा गुट उपगुट समाप्त भएको बताइँदै आएको थियो । विगतमा मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादलहरुले गुट चलाएको आरोप लाग्ने गरेको थियो । ती नेताहरुले अहिले माओवादी केन्द्र छाडिसकेका छन् । फेरि पनि प्रचण्डलाई नै आजित पार्ने गुटबन्दी हुन थालेको भन्दै प्रवक्ता महराले सार्वजनिक कार्यक्रममा बोलेपछि माओवादीमा गुटबन्दी मौलाएको हो त ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रवक्ता महराले पार्टी भित्रका गुट–उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरु बढ्दो रहेको औल्याएका छन् । उनले भनेका छन्, ‘अब पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् ।’

उनले गुट बनाउनमा कोको सक्रिय छन् भन्ने विषयमा खुलाएनन् । उनले अध्यक्ष प्रचण्डलाई गुट बनाएर तनाव दिन थालेको संकेत भने प्रष्ट भाषामा गरेका छन् ।

महरामाथि विभिन्न काण्ड लागेपछि पार्टीमा सबैभन्दा अप्ठ्यारोमा अध्यक्ष प्रचण्ड नै परेका थिए । द्वन्दकालमा मात्र नभएर शान्ति प्रक्रियामा समेत महरा प्रचण्डका विश्वास पात्र थिए । पार्टीको आन्तरिक व्यवस्थापन, पार्टी र बाह्य प्रतिस्पर्धा, वैदेशिक समन्वयका साथै सञ्चारमा महराले साथ दिँदै आएका थिए । पछिल्लो समय महरा पुनः राजनीतिमा सक्रिय भएका छन् । प्रचण्डले पनि महरालाई सक्रिय बनाउन प्रवक्ताकै जिम्मेवारी दिएका छन् ।

माओवादीमा देखिएको शक्ति सन्तुलन मिलाउनका लागि पनि महरालाई प्रचण्डले अघि सारेको अनुमान गरिएको छ ।

पछिल्लो समय प्रचण्ड नारायणकाजी श्रेष्ठको मागलाई लिएर चिन्तित देखिएको एक नेताको भनाइ छ । ती नेताका अनुसार, श्रेष्ठले पार्टीमा प्रचण्डपछिको भूमिका खोजेका छन् । त्यस्तै, अन्य जनवर्गीय संगठनमा पनि उत्तिकै आफ्नो पक्षका नेता, कार्यकर्ताको व्यवस्थापन चाहेका छन् । तर, प्रचण्ड भने पेलेर अघि बढ्ने मनस्थितिमा देखिएका छन् ।

नेता श्रेष्ठले पार्टीको आन्तरिक प्रशिक्षणहरुमा प्रचण्डको उच्च प्रशंसा गर्ने तर भित्रभित्रै गुटगत अभियान चलाउने गरेको आरोप प्रचण्ड निकटका नेताहरुले नै लगाउने गरेका छन् ।

त्यस्तै, वर्षमान पुन र जनार्दन शर्माको महत्वकांक्षाबाट प्रचण्ड आजित भइसकेका छन् । शर्मालाई अर्थमन्त्री बनाएसँगै छाँया महासचिवका रुपमा पुनलाई प्रचण्डले सचिवालयको इञ्चार्ज बनाएका छन् । पुन र शर्माको महत्वकांक्षा बढ्दै जाने स्थितिमा प्रचण्डले महरालाई अघि सारेर विकल्प दिने दाउमा देखिएका छन् ।

पार्टी संरचनाहरुमा यी तिनै नेताहरुले आ–आफ्नो पक्षबाट यति जना हुनैपर्ने तर्क गर्ने गरेको प्रचण्ड निकट स्रोतले बताएको छ । पछिल्लो समय पठाइएको पार्टीको आन्तरिक सर्कुलर समेत केही दिनमा परिवर्तनसहित पुनः पठाउने स्थिति बनेको छ ।

हुन त प्रचण्ड नेताहरुबीचको अन्तरविरोधमा खेलेर रमाउने नेता हुन् । उनले युद्ध कालमा पनि दरवार र दलहरुबीच अन्तरविरोध सिर्जना गर्ने गरेका थिए । ‘अहिले पार्टीमा देखिएको गुटगत प्रवृत्तिमा पनि प्रचण्डले नै खेल्न खोजिरहेका त होइनन् ?’ माओवादीकै एक जना स्थायी समिति सदस्यको प्रश्न छ ।

 

साताकाे चर्चित
सम्बन्धित