दैनिक २ हजार दिइने, कर्मचारीलाई पर्यटन काज मंसिरदेखि,
दैनिक २ हजार दिइने, कर्मचारीलाई पर्यटन काज मंसिरदेखि,
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

सरकारले कर्मचारीका लागि दिने भनिएको १० दिने पर्यटन काज कार्यविधि आगामी मंसिरदेखि कार्यान्वयनमा ल्याउने गरी तयारी गरिरहेको छ । कर्मचारीलाई पुनर्ताजगी गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्‍यले सरकारले बजेटमार्फत ल्याएको पर्यटन काज कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गरी सुझावका लागि सबै मन्त्रालयलाई पठाएको छ । सरकारले चालू आर्थिक वर्षदेखि कर्मचारीलाई सुविधासहित १० दिनको पर्यटन काज कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले कर्मचारीलाई काममा थप उत्प्रेरणा गर्ने गरी ल्याएको १० दिने पर्यटन काज कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयले आवश्‍यक तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन काज कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कर्मचारीलाई सेवाप्रति थप उत्साह जागृत गर्नेछ ।” उहाँका अनुसार अहिले मन्त्रालयले कार्यविधिको नमुना तयारी गरी सबै मन्त्रालयलाई सुझावका लागि पठाएको छ ।

अर्थ मन्त्रालयले आवश्‍यक बजेटको व्यवस्था गर्दैछ । यस कार्यक्रमले कर्मचारीलाई आफ्नै देशभित्र भएको पर्यटकीय क्षेत्रको बारेमा जानकारी हुने, आन्तरिक पर्यटनमा टेवा पु¥याउने, आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सिर्जना हुने, सहरी र ग्रामीण पर्यटन क्षेत्रको विस्तार हुने र कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्प्रेरित हुने मन्त्रालयको विश्‍वास व्यक्त गरेकोे छ । पर्यटन काज निजामती कर्मचारीका लागि मात्र नभई सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई समेत सेवा प्रदान गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

आगामी दिनमा निजी क्षेत्रलाई समेत यसमा जोडिँदै लगिने योजना बनाइएको छ । एक आर्थिक वर्षमा बाटोको म्यादसहित बढीमा १० दिनसम्म पर्यटन काजमा पठाउनका लागि प्रत्येक कार्यालयले वार्षिक कार्ययोजना बनाई स्वीकृत गर्नुपर्ने, कार्यक्रमको सीमाभित्र रहेर कार्यालयले कर्मचारीलाई पर्यटन काजमा पठाउन सक्ने, सम्बन्धित कार्यालयले कर्मचारीलाई पर्यटन काजमा पठाउँदा कार्यालयको काम तथा नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी पठाउनुपर्ने छ ।

पर्यटन काजका लागि गन्तव्य स्थलको छनोट गर्दा स्वीकृत वार्षिक कार्ययोजनाअनुरूप कर्मचारीलाई कार्यालयले सो कार्यालय रहेको जिल्ला तथा कर्मचारीको‚ स्थायी ठेगाना रहेको जिल्लाबाहेकका अन्य जिल्लामा अवस्थित पर्यटकीय गन्तव्य स्थलहरूमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कर्मचारीलाई पर्यटन काजमा पठाउँदा कार्यालयले पर्यटकीय सम्भावना भएका एवं पर्याप्त प्रचारप्रसार नभएका थप पर्यटकीय गन्तव्यको स्थानलाई प्रोत्साहन गर्नुपर्ने, हरेक वर्ष पर्यटन काजमा कर्मचारी खटाउँदा फरक फरक स्थानमा भ्रमण गर्ने गरी भौगोलिक सन्तुलन कायम गर्नुपर्नेछ ।

पर्यटन काजमा जाने कर्मचारीले आफूसमेत दुई जनामा नबढ्ने गरी परिवारका सदस्यलाई भ्रमणमा सहभागी गराउन सक्ने र सहभागी परिवारका सदस्यले समेत कर्मचारीको १० दिनको पारिश्रमिक बराबरको सुविधा पाउने गरी प्रस्ताव तयार गरिएको छ । सम्बन्धित कर्मचारी र निजका पविारलाई प्रतिव्यक्ति दैनिक दुई हजार रुपियाँका दरले यातायात खर्चबापतको रकम एकमुष्ट अग्रिम रूपमा समेत उपलब्ध गराउन सक्ने, पेस्की रकम बुझ्ने तर कर्मचारीले स्वीकृत गन्तव्य स्थलको भ्रमणमा नगएमा निजले बुझेको उक्त रकम फिर्ता गर्नुपर्ने गरी कार्यविधिमा प्रस्ताव गरिएको छ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका महासचिव तेजकुमार केसीले सकारले कर्मचारीलाई उत्प्रेणा गाउने उद्देश्यले ल्याएको पर्यटन काजको सबै कर्मचारीले उचित रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

साताकाे चर्चित
सम्बन्धित