नेपाली स्याटेलाइट अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीमा खस्‍यो
नेपाली स्याटेलाइट अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीमा खस्‍यो
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

१८ असोज, काठमाडौं। नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर ४१ मिनेट अर्थात नेपाली समय दिउँसो ४ बजेर २६ मिनेटमा खसेको बताए ।

उनले अनलाइनखबरसँग भने,’ नेपाली वैज्ञानिकले बनाएको भू-उपग्रह ‘नेपालीस्याट-१ अन्तरिक्षमा ८४१ दिन रह्यो । अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो । नेपाली समय अनुसार आज दिउँसो ४ बजेर २६ मिनेटमा पृथ्वीको वायुमण्डलमा खसेको जापानबाट आभास मास्केले गराउनुभएको छ ।’

उनका अनुसार नेपाली स्याट-१सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ भू-उपग्रह पनि खसेको थियो । नेपालीस्याट-१ ले देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना संकलन गर्ने उद्देश्यले पठाइएको थियो ।

‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको थियो । तर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सँगै श्रीलंकाको राभाना-१ र जापानको युगुसु भूउपग्रहलाई एकैसाथ २०७६ साल असार २ गते पृथ्वीको कक्षमा छाडिएको थियो ।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका थिए । नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका थिए ।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित