वर्षाकाे कारण सडक हिलाम्य, यात्रा गर्न सास्ती
वर्षाकाे कारण सडक हिलाम्य, यात्रा गर्न सास्ती
    • बेल संचार

    • १९ आश्विन २०७८, मंगलवार

। म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ ।

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा  पोखरी बनेको छ । बेनी-अर्थुङ्गे-पुलाचौर, बेनी-पाखापानी, बेनी-बगरफाँट-भकिम्ली, बेनी-हाँडेभीर-बरंजा, बेनी-भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन् । यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । “यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ”, स्थानीयवासी राजकुमार सुवेदीले भने । बेनी-भकुण्डे सडकको अवस्था झन दयनीय छ । बेनी-भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन ।

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो । साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ । सडकको दिन प्रतिदिन बिग्रिदै गएको स्थानीय शोभित सापकोटाले बताए । बेनी-भकुण्डे सडकखण्डमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । “पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ”, उनले भने ।

बेनी-बगरफाँट-बरङ्जा सडकको पनि यस्तै अवस्था छ । उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो । सडकको अवस्था हालसम्म उस्तै छ । निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन । सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ ।

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्ट्रक्सनका जिसीले वर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताए । त्यसैगरी बेनी-अर्थुङ्गे-पुलाचौर सडकको अवस्था पनि नाजुक छ । थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताए । बेनी-पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ । सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

साताकाे चर्चित
सम्बन्धित