चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने
चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । नेपालको चुच्चे नक्सामा समेटिएका नावी, गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो । अहिले सरकारले जिल्लाका सबै स्थानीय तहमा घर सूचीकरणको लागि सुपरिवेक्षक खटाए पनि तीन गाउँमा खटाउन नसकेको हो । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म जिल्लाभरि ४५ जना सुपरिवेक्षक खटिएका थिए ।

सरकारले मंसिर ९ गतेबाट जनगणना सुरु गर्दै छ । यो क्षेत्रमा ०१८ सालपछि जनगणना हुन सकेको छैन । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा उपस्थिति नभएको कारण यो क्षेत्रमा गणना सम्भव छैन । ‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरिवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाइ छ ।

पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना कार्यालय छन् । दार्चुलामा ४९ जना सुपरिवेक्षक खटिएका छन् । एक सुपरिवेक्षकको भागमा चारवटा जति गणना क्षेत्र परेको छ । ‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो भएन । असुरक्षाका कारण हामीले त्यता सुपरिवेक्षक नखटाएका हौँ,’ उनले भने, ‘नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।’अहिले सरकारको उपस्थित व्याँसको छांगरु तथा तिंकरमा मात्रै छ । त्योभन्दा वर अहिले जनगणना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत दार्चुलामा घर तथा घरपरिवार सूचीकरणको अन्तिम चरणमा पुगेको छ । घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा खटिएका सुपरिवेक्षकले काम अन्तिम चरणमा पुर्‍याएका छन् । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक सबै इन्ट्री गर्न दसैँपछिसम्मको समयावधि दिइएको छ । जिल्लामा कर्मचारी र डेरा गरी बस्नेहरूको तथ्यांक संकलनमा केही समस्या भएको पाण्डेले बताए । ‘अन्य व्यक्तिबाट कुनै असहयोग भएको छैन,’ उनले भने, ‘डेरावाला र कर्मचारीलाई बढी सम्झाइबुझाई डाटा लिनुपरेको छ ।’

०६८ को जनगणनाअनुसार दार्चुलाको जनसंख्या एक लाख ३३ हजार दुई सय ७४ र परिवारको संख्या २४ हजार  ६ सय १८ रहेको छ । ०५८ मा भएको जनगणना अनुसार जिल्लाको जनसंख्या एक लाख २१ हजार नाै सय ९६ र परिवार संख्या २१ हजार ५९ रहेको थियो । पछिल्लो जनगणनाअनुसार जिल्लामा हरेक १० वर्षमा परिवार र जनसंख्या बढ्दै गएको देखिएको छ ।

पहिलो चरणमा संकलित तथ्यांकका आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ।  मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुने गर्छ । यसपटकको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ नाराका साथ भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित