के हो राजकुलो ? के राजकुलो भएको ठाउँमा घरजग्गा किनबेच र नक्सापास हुँदैन?
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

राजकुलोको नेपालमा ऐतिहासिक महत्व छ । हाम्रो पुर्खाहरुले खेति किसान गर्न राजकुलोमा निर्भर थिए । राजकुलोको बिकास सामाजिक अवधारणामा भएको छ । भनिन्छ, पानीको स्रोतहरुकै सेरोफोरोमा रहेर मानव सभ्यताको बिकास भएको हो र राजकुलो पनि मानव सभ्यताको बिकासको एक अभिन्‍न अंग हो ।

खेती किसानी गर्ने प्रत्येक व्यक्तिले पानीमा सहज पहुँच पाउनु पर्छ र प्रत्येक व्यक्तिले आफ्नो खेतमा सिचाई गर्न पाउने अधिकार राख्दछ भन्‍ने अवधारणमा केन्द्रित रहेर नै राज कुलोको बिकास गरिएको छ । तसर्थ राजकुलोलाई बिशेष महत्वका साथ सर्वजनिक उपभोगिताको बिषय र सार्वजनिक सम्पत्तिको रुपमा हेर्ने गरिथ्यो ।

परापूर्व कालमा हाम्रो आर्थिक र सामाजिक जीवन खेति किसानीमा निर्भर रहेकोले राजकुलोको सरंक्षणमा बिशेष ध्यान दिइन्थ्यो । तर, जसरी बिकासको अवधारणलाई पन्छ्याउँदै खेतीकिसानीमा मात्र आत्मनिर्भर नरहेर अन्य आर्थिक कारोबारमा लाग्‍न थाल्यौँ, त्यसरी नै राजकुलोको महत्व र यसको संरक्षणको बिषय कम चासोको बिषय बन्‍न पुग्यो । कन्क्रिटाईजेशनलाई मात्र बिकास मानेर खेतबारीलाई मास्दै धान फल्ने खेतमा घर फल्ने समय आएसँगै राजकुलोको बिनाश हुन थालेको छ ।

राजकुलो मास्‍ने, यसको संरक्षण नगर्ने र राजकुलो रहेको जग्गामा घर बनाउने जस्ता कृयाकलापहरु अब सामान्य भइसकेका छन् । तर आम नागरिकहरुमा अझै पनि जिज्ञास रहेको पाईन्छ। के राजकुलो भएको जग्गामा घर बनाउन पाईन्छर ? खासगरी काठमाण्डौं उपत्यकामा जग्गा किन्‍ने धेरैलाई यो प्रश्‍नले सताएको छ ।

राजकुलो भनेको के हो?

प्रचलित कानुनी व्यवस्था अनुसार राजकुलो तथा कुलो भन्‍नाले नक्सामा भएको र परम्परागत रुपमा चलिरहेको पानी बग्‍ने कुलो सम्झनु पर्छ भनि उल्लेख गरिएको छ ।

के राजकुलो सरकारी सम्पत्ति हो ?

मुलकी देवानी संहिता, २०७४ को दफा २९९ अन्तर्गत राजकुलोलाई सरकारी सम्पत्तीको रुपमा मान्‍न सकिन्छ । यस दफा अन्तर्गत नहर, कुलो वा ऐलानी, पर्ती जग्गाहरु सरकारी सम्पत्तिको रुपमा राखिएको छ ।

राजकुलो मिचेर घर बनाउन पाइन्छ? 

प्रचलित कानुनअनुसार राजकुलो छोपेर घर निर्माण गर्न पाइँदैन । काठमान्डौ उपत्यकामा तिब्र रुपमा बस्ती बिकास भएसँगै खोला किनार र राजकुलोहरुको माथि घर निर्माण गर्ने कार्यहरु निकैनै बढेका कारण काठमान्डौ उपत्यका अन्तर्गतका खोला र राजकुलोहरुलाई संरक्षण गर्नका लागि नयाँ मापदण्ड बनाई राजकुलो छोपेर घर बनाउने कार्यलाई रोक लगाउन थालिएको छ ।

त्यस्तै मुलुकी देवानी संहिता ,२०७४ को दफा ३०५ देखि ३०८ सम्म सार्वजनिक र सरकारी सम्पत्तिहरु व्यक्ति बिशेषको नाममा दर्ता गर्न नपाईने, यस्ता सम्पत्तिहरुमा संरचना बनाउन नपाने साथै यस्ता सम्पत्तिहरु भोगचलन गर्न समेत नपाईने व्यवस्था कानुनले गरेको छ ।

राजकुलोको दुवैतिर कति फिट छोडेर घर निर्माण गर्नु पर्छ भन्‍ने  मापदण्ड कानूनले निर्दिष्‍ट गरेको छ ?

राजकुलो कायम भएको वा नक्सामा राजकुलो जनिएको छ भने त्यस्तो स्थानबाट दुबै तिर कम्तिमा १० फिटसम्म जग्गा छाडेर मात्र घर तथा संरचना निर्माण गर्न पाईन्छ । यसको विस्तृत व्यवस्था भवन निर्माणको नमुना मापदण्ड, २०७१ तथा आधारभूत निर्माण मापदण्ड, २०७२ मा उल्लेख गरिएको छ ।

यदि राजकुलो सरकारी सम्पत्ति हो, यसलाई मिची घर बनाउन पाँइदैन भने किन कसैको लालपूर्जा कायम रहेको जमिनमा राजकुलो देखिन्छ रु राजकुलोमा कसरी लालपूर्जा दिइयो ? हाल व्यवहारमा राजकुलो मिचेर जग्गा दर्ता गरेको बिषयहरु सार्वजनिक भैरहेको भएता पनि कानून अनुसार राजकुलो रहेको जग्गामा व्यक्तिलाई लालपुर्जा दिन पाँईदैन । लालपुर्जा कायम रहेको जग्गाहरुमा राजकुलो देखिनुको अर्थ भने उक्त जग्गाको लालपुर्जा बनाउदाका अवस्था व्यक्ति बिशेषलाई झुक्याएर लालपुर्जा बनाउने, सम्बन्धि मालपोत कार्यलायकै मिलेमतोमा लालपुर्जा तयार गर्ने जस्ता कारणहरु हुन सक्दछन् ।

नेपालमा मालपोत कार्यलयहरुकै मिलेमतोमा राजकुलोको जग्गाहरु व्यक्ति बिशेषको नाममा पास हुने वा लालपुर्जा बनाएको जग्गाहरुमा राजकुलो देखिने दृष्‍टान्तहरु धैरै नै छन् । तसर्थ राजकुलो सार्वजनिक जग्गा अन्तर्गत पर्ने भएको हुनाले कानुनले राजकुलोमा रहेको जग्गामा लालपुर्जा दिने कार्यलाई स्पष्‍ट रुपमा गैरकानुनी भनि उल्लेख गरेको छ। यस्तो कार्यलाई मालपोत ऐन २०३४ को दफा  २४ (१) र २४ (५) ले बर्जित गरेको छ।

यदि कुनै घडेरीमा राजकुलोले छोएको छ भने नक्सापास हुन्छ वा हुँदैन? 

राजकुलोले छोएको घडेरीको नक्सा पास हुन सक्दैन । राजकुलो कायम भएको र नक्सामा समेत राजकुलो देखिने स्थानबाट दुबैतिर कम्तिमा पनि १५ र १५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाइनेछ  व्यवस्था कानुनमा गरिएको छ ।

यदि जग्गा नाप जाँच गर्ने, त्यसको क्षेत्रफल यकीन गर्ने र क्षेत्रीय किताबमा दर्ता गर्ने अधिकारीबाट कुनै गल्ती वा त्रुटी भइ राजकुलोले छोएको जग्गाको नक्सा पास भएको देखिएमा वा त्यस्तो कार्य भएको जानकारी हुन आएमा नापी अधिकृतले आवश्यक छानविन गरी जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गर्नु अगावै आवश्यक सुधार गराउनु पर्नेछ भनि जग्गा नापजाच ऐन २०१९ को दफा ३ को उपदफा (५) ले व्यवस्था गरिएको छ र यसरी जानाजानी गल्ती वा त्रुटी गर्ने कर्मचारीलाई कानून बमोजिम विभागिय कारवाही गरिनेछ भन्‍ने समेत व्यवस्था कानुनमा रहेको छ । यदि नक्शा पास भएको रहेछ भएपनि नापजाच ऐन, २०१९ दफा ६(ग) अनुसार नापी गर्दा सरकारी जग्गाकै रुपमा दर्ता गराउनु पर्छ ।

राजकुलो भएको क्षेत्र किनबेच भएको देखिन्छ, के राजकुलो भएको क्षेत्र किनबेच गर्न पाइन्छ?

कानूनी रुपमा राजकुलो परेको क्षेत्रको जग्गा किनबेच गर्न मिल्दैन । नापजाच ऐन २०१९ (६)(ग) अनुसार साबिकमा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा जनिई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी अतिक्रमण गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नु पर्नेछ भन्‍ने व्यवस्था रहेको छ ।

साथै बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को मापदण्ड न ८ बमोजिम सरकारी, ऐलानी, पर्ति जग्गा आदि अतिक्रमण गरेका भवनहरु स्थानीय निकायले भत्काउन लगाउने वा भत्काउनेछ भन्‍ने व्यवस्था भएको छ । त्यस्तै मुलुकी देवानी संहिताको दफा ३०५ मा यदि कुनै व्यक्तिले सरकारी वा सार्वजनिक जग्गामा भौतिक संरचना बनाएको देखिएमा त्यस्तो व्यक्तिले आफ्नो खर्चमा सो संरचना भत्काउनु पर्ने र यदि उक्त व्यक्तिले उक्त संरचना नभत्काएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सो संरचना आफै भत्काउन निर्देशन दिन व्यवस्था समेत गरिएको छ ।

राजकुलोको जग्गासँग जोडिएको निजि जग्गाको क्षेत्रफलमा विवाद आएमा के हुन्छ?

नाँपजाच नियमवली २०५८ को नियम १३ बमोजिम सरकारी वा सार्वजनिक जग्गासंग जोडिएको जग्गाको क्षेत्रफल कायम गर्दा  नाँप जाच ऐन २०१९ अनुसार गठित समितिले सिफारिश गरे बमोजिम हुने व्यवस्था नाँपजाच नियमवली २०५८ मा गरिएको छ। तसर्थ सार्वजनिक जग्गासंग जोडिएको निजि जग्गाहरुको क्षेत्रफलको विवादमा समितिले पुर्ण रुपले अनुसन्धान गरि सिफारिस गरे बमोजिम हुने गर्दछ।

राजकुलो भएको जग्गामा प्रतिकुल भोगअधिकार प्राप्त हुन सक्छ वा हुदैँन?

प्रतिकुल भोगाधिकार भन्‍नाले लामो समय सम्म भोग गरेको कारण बाट कुनै पनि चल वा अचल सम्पतिमा स्वमित्व प्राप्त गर्नु हो। प्रचलित देवानी संहिता, २०७४ मा कसैले कुनै अचल सम्पत्तिको हकमा ३० बर्ष सम्म आफ्नै जमिन सरह भोग गरेकोमा त्यस्तो जमिनमा निजको प्रतिकुल भोगाधिकार रहेको मानिनेछ भनि व्यवस्था गरिएको छ। तर सरकारी, सार्वजनिक सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भएता पनि प्रतिकुल भोगाधिकार प्राप्त हुदैन भन्‍ने व्यवस्था समेत कानुनले गरेको छ ।  तसर्थ राजकुलो सरकारी जग्गा भएकोले गर्दा अन्य निजि जग्गामा जस्तो भोगअधिकारको आधारमा स्वमित्व प्राप्त हुन सक्दैन।

के राजकुलोको जग्गा हालसाबिक गर्न मिल्छ?

हालसाबिक भन्‍नाले हालको अवस्थामा जग्गाको स्थिति र साबिक अर्थात पहिला उक्त जग्गाको स्थिति के कस्तो थियो भन्‍ने व्यहोरा खुलाउने प्रयोजनका लागि गरिने प्रकृया हो । तसर्थ हाल साबिकलाई निर्माण कार्य गर्दाको एक अभिन्‍न प्रकृयाको रुपमा बुझ्‍न सकिन्छ । हालसाबिकको प्रकृया पुरा नहुँदा आफ्नै घर जग्गामा समेत घर निर्माण गर्न असहज हुने गर्दछ ।

यो पनि पढ्नुहोस: के हो जग्गाको हालसाविक भनेको ? किन र कसरी गर्ने ? हेर्नुहोस् विस्तृत प्रकृया

हालसाविक गर्नका लागि पनि निश्‍चित प्रकृयाहरु र सरकारले तोकेको मापदण्डहरु पुरा गरेको हुनु पर्दछ । जस्तै कुनै पनि सार्वजनिक जमीन र सडकको सीमा घट्ने गरी निजि जग्गाहरुको हालसाबिक गर्न मिल्दैन । यस अन्तर्गत राजकुलो पनि पर्दछ । यदि राजकुलो वा अन्य सार्वजनिक जमिनको सीमा घट्ने गरि हालसाविक गरिएमा सो बाट हुन आउने नोक्सानी यस्तो कार्य गर्न संलग्‍न पदाधिकारीबाट कानून बमोजिम कारबाही सहित सरकारी बाकी सरह असुल उपर गर्ने कानुनी व्यवस्था रहेको छ ।

के पछिल्लो दिनमा राजकुलो खारेज पनि भइरहेको छ? राजकुलो खारेज गर्ने प्रकृया के छ?

पछिल्लो समयमा थुप्रै राजकुलोहरु अतिक्रमण भइरहेको अवस्था छ तर कानूनी रुपममा त्यस्ता राजकुलोहरु खारेज भने भएको छैन । बरु राजकुलोलाई संरक्षण गरिनु पर्दछ भन्ने बिषयमा बिभिन्‍न बिज्ञहरुबाट आवाज उठिरहेको छ। राजकुलो खारेज नभइ  राजकुलोको हेरचाह गर्ने व्यक्तिहरुको व्यवस्था भने खारेज गरिएको छ।  बिगतमा राजकुलोको हेरचाह गर्ने व्यक्तिहरुलाई सरकारी स्तरबाटै तलब सुविधा प्रदान गरिएको थियो भने २०४६ सालमा यस्तो व्यवस्था खारेज गरिए संगै राजकुलोको संरक्षणमा असर पर्न गई यसको अतिक्रमण बढेको हो कानूनमा राजकुलो खरेजीको विषयमा भने कुनै प्रक्रिया तोकिएको छैन ।

राजकुलो भएको जमिनलाई बैंकले ऋण दिन्छ वा दिँदैन ?

राजकुलो भएको जमिन व्यक्ति बिशेषले आफ्नो नाममा कायम गरि बैंक बाट ऋण लिन मिल्दैन । राजकुलोसंग छोएको जग्गामा कम्तिमा १५ फिट मापदण्ड पुरा लालपुर्जा लिएको व्यक्ति बिशेषको जग्गामा मात्र बैंकले ऋण प्रवाह गर्ने गर्दछ ।

राजकुलोको जग्गा व्यक्तिले अतिक्रमण गरेमा के छ कानुनमा सजाय?

१.     राजकुलोको  जग्गा व्यक्तिको नाममा दर्ता गरेमा:

राजकुलोमा व्यक्ति बिशेषको नाममा लालपुर्जा गर्ने गराउने व्यक्तिलाई मालपोत ऐन, २०३४ को दफा २९ अनुसार एकहजार रूपैयाँदेखि दशहजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था समेत गरेको छ।  साथै मुलुकी देवानी संहिताको दफा ३०५ अनुसार समेत सार्वजनिक सम्पत्ति हिनामिना भएमा २५ हजार देखि १ लाख रुपैया सम्म जरिवाना सजायको व्यवस्था गरिएको छ  ।

२.     राजकुलोको जग्गा कब्जा वा आवाद गरेमा:

राजकुलोमा जग्गा व्यक्ति बिशेषले कब्जा वा आवाद गरेमा मुलुकी देवानी संहिताको दफा ३०५ ले त्यस्तो कार्य गर्ने व्यक्तिलाई मालपोत कार्यालयले दश हजार रूपैयाँसम्म जरिवाना तोकेको छ ।

३.    राजकुलोको  जग्गामा संरचना बनाएमा: 

राजकुलोमा जग्गामा व्यक्तिले संरचना बनाएमा मुलुकी देवानी संहिताको दफा ३०५ बमोजिम पच्चीस हजार रूपैयाँसम्म जरिवाना तोकिएको छ ।

कस्ता छन नजीरहरु
विष्‍णुदेवी राजभण्डारी समेत बि. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ने.का.प २०६८, नि. नं. ८७३५ भएको मुद्दामा राजकुलो भएको जग्गा भनि सम्बन्धित नापी विभाग, मालपोत कार्यालयले स्थापित गरिसकेको अवस्थामा त्यस्तो जग्गामा निर्माण भएको टहरामा कुनै व्यक्तिको भोगाधिकार भएकै आधारमा मात्रै व्यक्तिले स्वमित्व पाउन सक्दैन भन्‍ने सिद्धान्त प्रतिपादित भएको छ।

काठमाडौँ  उपत्यकाको कुन नदि तथा खोला किनारबाट निर्माण गर्दा कति सेट व्याक छोड्नुपर्छ?

नदी तथा खोला                                                                            नदि किनारबाट (नापी नक्सामा कायम हुनुपर्ने) छाड्नु पर्ने सेटब्याक

बाग्मती, विष्णुमती, र मनहरा खोला किनारबाट                                    २० मिटर
धोवी खोलामा धोवी खोला आयोजना भएको स्थान                                आयोजना अनुसारको दुरी
धोवी खोलामा धोवी खोला आयोजना लागू नहुनुपर्ने अन्य स्थान                ९ मिटर
नख्खु खोला किनारबाट                                                                  १२ मिटर
बल्खु, कर्मनसा, कोईकु, सांग्ले र महादेव खोला किनारबाट                   १० मिटर
करखुसी कोला किनारबाट                                                              ६ मिटर
टुकुचा, सामाखुसि र उपत्यका बग्‍ने अन्य खोलामा                                 ४ मिटर
हनुमन्ते खोला बग्‍ने क्षेत्रका खोलाको किनारबाट                                   २० मिटर

Nabintech
साताकाे चर्चित
सम्बन्धित