मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, बोलाइयो प्रदेश सभा
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, बोलाइयो प्रदेश सभा
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । त्यसका लागि प्रदेश सभाको नवौं अधिवेशन आउँदो असोज २४ गतेबाट बोलाइएको सांसद् अरुणप्रसाद नेपालले बताए ।

बुधबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २४ असोजमा प्रदेश सभाको नवौं अधिवेशन बोलाउने निर्णय गरेको हो । नेपालकाअनुसार आजको मन्त्रिपरिषद् बैठकले २४ गतेका लागि सदन बोलाउन सिफारिस गरेको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेलाई उद्धृत गर्दै नेपालले भने, ‘सोही दिन उहाँ (मुख्यमन्त्री) ले विश्वासको मत लिनुहुन्छ ।’

पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी छिन् । सत्तारुढ दल फुटेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम शाक्यले विश्वासको मत लिन लागेकी हुन् । ‘२५ गते एक महिना पुग्छ,’ नेपालले भने, ‘त्यसो हुँदा पनि यसो गर्नुपरेको हो ।’ मुख्यमन्त्री शाक्यले सरकार अल्पमतमा परेपछि ११ भदौमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरेकी थिइन् ।

बागमतीमा स्पष्ट बहुमत रहेको एमालेसँग पार्टी विभाजनपछि ४३ मत मात्र छ । शाक्यले साना दललाई सरकारमा ल्याए पनि सरकार टिक्ने अवस्था छैन । सरकारनिकट मानिएको राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग २/२ गरी कुल ४ मत छ । सरकार टिकाउन एमालेबाहेक १२ मत आवश्यक रहेको अवस्थामा शाक्यलाई साना दलको मतले जोगाउने सम्भावना देखिँदैन । ३ मत रहेको विवेकशील साझा पार्टीले शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

नयाँ सरकार बनाउन वा वर्तमान सरकार कायम रहन ५५ मत आवश्यक पर्छ । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन सरकार बनाउन मत पुग्छ । बागमतीमा माओवादी केन्द्रको २३, कांग्रेस २२ र एकीकृत समाजवादीका १३ र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत छ ।

गठबन्धनमा विवेकशील साझालाई पनि ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन् । बागमती प्रदेशमा हाल १०९ सांसद छन् ।

साताकाे चर्चित
सम्बन्धित