पठाओमाथि रुट लम्ब्याएर बढी पैसा लिएको आरोप
पठाओमाथि रुट लम्ब्याएर बढी पैसा लिएको आरोप
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

काठमाडौं । नियमित रुटको सट्टा लामो रुट प्रयोग गरेर ग्राहकसँग महँगो शुल्क उठाएको भन्दै सामाजिक सञ्जालमा पठाओको आलोचना भइरहेको छ । केही प्रयोगकर्ताले आफूले नियमित हिंड्ने गरेको रुटमा पनि पठाओले बढी भाडा लिएको तथ्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पठाओकाे आलोचना भएको हो ।

पठाओले‍ यात्राको दुरी अनुसार शुल्क लिँदै आएको छ । छोटो दुरीको विकल्प हुँदाहुँदै पनि पठाओले लामो रुट राखेर बढी शुल्क लिएको आरोप प्रयोगकर्ताले लगाएका छन् ।

पठाओको प्रतिस्पर्धी कम्पनी टूटलका प्रमुख कार्यकारी निर्देशक शिक्षित भट्टलाई मेन्सन गर्दै शर्माले ट्वीटमा भनेका छन्, ‘ हामीलाई पठाओको असल प्रतिष्पर्धा चाहियो है !’

शर्माकै पोस्टमा रिप्लाई गर्दै पूर्ण भण्डारीले लेखेका छन्, ‘यात्रुले चाहेको रुट परिवर्तन गर्न पाउने विकल्प खोई ? मनपरी भाडा लिएको छ एकै लोकेसनबाट अर्को उही लोकेसनमा जाँदा ३५ रुपैयाँको फरक हुन्छ ?

मैतिदेवीबाट बिजुली बजार जादा पुरानो बानेश्वर, नयाँ बानेश्वर हुँदै जाने रुट किन ? जब कि खोलाको बाटो सरासरी पुगिन्छ ? लुट्नुको सिमा हुन्छ नि ?’ यस विषयमा पठाओले भने गुगल म्याप इन्टरफेसको प्रयोग गर्ने हुनाले शुल्क पनि सोही अनुसार उठ्ने बताएको छ ।

‘हामी आफैँले रुट तय गर्ने होइन, हामीले गुगल म्याप प्रयोग गर्ने हो । यस्तोमा गुगलले देखाएको रुटको आधारमा नै पैसा तय हुन्छ,’ पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । गुगलले ट्राफिक जाम हुदाँ खुला रुटको विकल्प दिन्छ भने कहिलेकाँही छोटो रुटको लागि वान-वेको रुट पनि देखाइरहेको हुन्छ ।

यसैले रुट लामो गराएर पठाओले धेरै भाडा लियो भन्ने कुरा आरोप मात्र भएको उनको भनाई छ । त्यति मात्र होइन बजारमा कुनै नयाँ राइड शेयरिङ कम्पनी आउन लागेको कारण आफ्नो कम्पनीलाई बदनाम गराउनको लागि यस्तो अफवाह फैलाएको पनि हुनसक्ने उनले बताए ।

‘यो भन्दा अगाडि पनि नयाँ कम्पनीहरू बजारमा आउन लाग्दा पठाओलाई विभिन्न आरोप लगाइएको थियो । तर हामीले भाडाको कुरामा रुट परिवर्तन गरेर बढी चार्ज लिएको भने होइन,’ उनले भने ।

लकडाउन पछि भने पेट्रोलको भाउ बढेको कारण त्यसलाई समायोजन गर्न कम्पनीले प्रति किलोमिटर एक रुपैयाँ भाडा बढाएको र त्यसयता अहिलेसम्म भाडामा कुनै परिवर्तन नगरेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित