ब्रिटेनले नेपाललाई रातो सूचीबाट हटायो
ब्रिटेनले नेपाललाई रातो सूचीबाट हटायो
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले उल्लेख गरेको छ । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो ।

नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए । अब होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यात्रा गर्नुअघि पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने जरुरी छ ।

दक्षिण एसियामा नेपालमात्र ‘रेड लिस्ट’ मा रहँदा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले सूचीबाट नेपाललाई हटाउन ब्रिटिस सरकारसँग अपिल गरेका थिए । लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले ब्रिटिस सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताइन् । ‘दूतावासले नेपाललाई रातो सूचीबाट हटाउन ब्रिटिस सरकारसँग पहल गरेको थियो । यसबाट नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरुलाई सहज हुने हामीले अपेक्षा गरेका छौं,ु उनले भनिन् ।

सरकारको नयाँ नियमले हवाई उद्योग फस्टाउने र लामो समय परिवारबाट अलग्गिन बाध्य भएकाहरुको पुनर्मिलन हुने अपेक्षा छ । दसैं–तिहार नजिकिइरहेका बेला बेलायतवासी नेपालीहरु समेत नेपाल जान बाटो खुलेपछि उत्साहित भएका छन् । यात्रा प्रतिबन्धका कारण नेपालमा रोकिएका धेरै भूतपूर्व गोर्खा सैनिक परिवारलाई पनि अब बेलायत आउन सहज हुने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले बताए ।

साताकाे चर्चित
सम्बन्धित