कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो
कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

काठमाडाैं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड-१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो ।

विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड-१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूणर् काम र केबलकारको सम्पूणर् काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।

 

“कोरोना कहरका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन”, उनले भने, “अब आगामी वर्षको फागुन १ गतेदेखि केबलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएका छौँ ।” कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूणर् पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन सञ्चालनमा ल्याउने भएको छ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफआवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ ।

परियोजनाको कूल लागत रु दुई अर्ब १० करोड पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डालामार्फत प्रतिघण्टा ३०० यात्री बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ गोण्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा ५०० यात्रु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ ।

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

माथिल्लो स्टेशनमा नौतले चारतारे होटल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि १०० सम्ममा स्तरोन्नति गरिनेछ । होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो ।

रु एक अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी रु ७५ करोड र चुक्ता पूँजी रु २० करोड रहेकामा त्यसलाई बढाएर रु ९० करोड पुर्‍याउने लक्ष्य लिइएको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता छन् ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित