झाँक्रीको नियति : जसलाई अधिक गाली गरिन् उनैबाट सपथ
झाँक्रीको नियति : जसलाई अधिक गाली गरिन् उनैबाट सपथ
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

संसद विघटन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक बनेपछि नेपाली रानजीतिमा विशेष चर्चामा रहिन् तत्कालीन नेकपा एमालेकी सांसद अहिलेकी नेकपा एसकी सांसद तथा नेतृ रामकुमारी झाँक्री । यसक्रममा उनले आलोचकहरु मात्रै होइन, धेरै समर्थकहरुसमेत कमाएकी छिन् ।                                                             गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका कारण तत्कालिन ओली सरकारको समयमा प्रहरीको पक्राउमा परेकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार राष्ट्रपति भण्डारीबाटै सहरी विकास मन्त्रीका लागि सपथ खाएकी छिन् । राजनीति खेल हो । जसलाई पदीय जिम्मेवारी भन्दा तल झरेर उनले आक्षेपहरु लगाइन्, आज उनै राष्ट्रपतिबाट उनले सपथ लिनुपरेको छ ।                                                                          झाँक्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले सहरी विकास मन्त्रीमा नियुक्त गरेकी हुन् ।विद्यार्थी राजनीतिबाट उदाएकी युवा नेतृ रामकुमारी झाँक्री कम्युनिष्ट पार्टीमा एक जुझारु र प्रभावशाली युवा नेतृका रुपमा चिनिन्छिन् । अनेरास्ववियूको राजनीतिदेखि नै तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल समूहसँग निकट रहेकी झाँक्री प्रतिनिधि सभा विघटनविरुद्धको लडाइँमा सशक्त रूपमा आवाज उठाउनेमा पर्छिन् । तत्कालिन नेकपा रहँदा र सर्वोच्चको फैसलापछि पुर्ववत पार्टी एमालेमा आउँदासम्म पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शसक्त सडकमा गर्जिनेमा झाँक्री एक हुन् । उनले ओलीको मतियारको रुपमा राष्ट्रपति भण्डारीमाथि पनि निकै विवादास्पद भाषण गरेकी थिइन ।गतवर्ष गोर्खाको सिरानचोकमा आयोजित आमसभामा गरेको उनको भाषण विवादास्पद बन्यो । जसमा झाक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेर सम्बोधन गर्दै उनले शीतल निवासको सुख–सुविधा छाडेर निर्वाचनको मैदानमा आउन आह्वान गरेकी थिइन् । उनले शीतल निवास छाडेर बालकोट नै गएपनि हुन्छ भनेर दिएको अभिव्यक्तिका कारण तत्कालिन ओली सरकार क्रुद्ध बनेको थियो । उनले राष्ट्रपतिमाथि मदन भण्डारीको आडमा राजनीतिमा सफलता चुमेको पटक पटक आरोप लगाएकी छिन् । उनको आक्रोश यति सम्म थियो कि उनले विधवा नारीको स्वाभिमान माथि समेत प्रहार गरेकी थिइन । जसका कारण उनी प्रहरी पक्राउमापनि परिन् । यद्यपि उनलाई सोहीदिन रिहा गरियो ।तर त्यसपछि पनि झाँक्रिले राष्ट्रपतिको आलोचना गर्न छाडिनन् । उनले एमालेका पूर्व महासचिव मदन भण्डारीको निधनपछि सेतो सारी बेच्ने काम गलत भएको बताएकी थिइन् । यद्यपि उनले कोही व्यक्ति विशेषको नभएर राष्ट्रपति संस्था र उक्त पदको मर्यादा च्यूत भएको सम्बन्धमामात्र आफूले आपत्ति गरेको बताएकी थिइन् । तर आज उनै देउवा नेतृत्वको सरकारमा उनै राष्ट्रपतिबाट झाँक्रीले मन्त्रीको सपथ खाएकी छिन् ।२०३५ साल जेठ १० गते गुल्मीको मदाने गाउँपालिकामा जन्मिएकी मन्त्री झाँक्रीको हालको ठेगाना शंखमुल काठमाडौं हो । उनको परिवारमा श्रीमान र एक छोरा छन् ।उनले मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेकी छिन् ।समानुपातिक निर्वाचन प्रणालीबाट २०७४ सालमा उनी प्रतिनिधि सभा सदस्यमा बनेकी हुन् । २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै उनको विद्यार्थी राजनीति प्रारम्भ भएको हो ।एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट झाँक्री अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेकी उनी एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा परेकी उनले २०६२÷६३ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । हाल उनी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।एमालेमा रहँदा झाँक्री घनश्याम भुसालको विचार समूहसँग निकट थिइन् । तर, पार्टी विभाजन हुँदा उनले भुसालको साथ छाडिन् र माधव नेपाललाई दह्रो साथ दिइन् । यसक्रममा माधव नेपाललाई हात समातेर डोर्याएको तस्बिरसमेत भाइरल बन्यो ।पहिलोपटक मन्त्री बनेकी झाँक्रीले सरकारमा रहँदा आफ्नो छविलाई कसरी अगाडि बढाउलिन् भन्ने नयाँ पुस्तामा चासो छ भने आफूलाई अब्बल प्रमाणित गर्न पनि झाँक्रीलाई चुनौती छ । आफ्नै पार्टी (तत्कालीन सत्तारुढदल नेकपा र एमाले)मा नेतृत्वलाई जबर्जस्त प्रश्न गर्ने र नेतृत्वले गरेको गलतीविरुद्ध आवाज उठाउने झाँक्रीले सहरी विकास क्षेत्रको सुधारमा नेतृत्वदायी भूमिका पुरा गर्ने अपेक्षा गर्न सकिन्छ । तर विधायिकामा बसेर कार्यपालिकालाई झक्झाउने झाँक्री आज आफैं कार्यान्वयन गर्ने निकायको नेतृत्वमा बसेर कामगर्न पक्कै सजिलो छैन । सत्ताबाहिर बसेर शासकमाथि औंला तेर्स्याउन सजिलो र सत्तामा गएर काम गर्न गाह्रो भन्ने नेपाली राजनीतिमा चलिआएको भनाइलाई चिर्नु झाँक्रीको प्रमुख चुनौती देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित