राकुमारी झाँक्रीको संयोग- श्रीमती मन्त्री, श्रीमान उपसचिव
राकुमारी झाँक्रीको संयोग- श्रीमती मन्त्री, श्रीमान उपसचिव
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री छिन् । उनले अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन् ।

वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविसमा जन्मिएकी झाँक्रीको राजनीतिक यात्राहरु उकाली ओराली छन् । ०६५ सालमा पोखरा महाधिवेसनबाट तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा चुनिएकी उनी कक्षा ७ मा अध्ययनरत रहँदै विद्यार्थी राजनीतिमा होमिएकी थिइन् ।

कलिलै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी ०६५ सालमा अनेरास्ववियुको अध्यक्ष भएर राजनीतिक यात्रालाई चुलीमा पुर्याइन् ।

अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनी राजतन्त्रविरुद्ध सडकमा उत्रिइन् । २०६१ सालमा राजाले सैनिक परिचालन गरेर ‘कु’ सत्ता हातमा लिँदा झाँक्री राजतन्त्रविरुद्ध ज्यान दिन सडकमा उत्रेर विरोध गरिन् ।

राजतन्त्रको विरोधमा उत्रिएकी उनले प्रहरीको लाठी खाइन् । जेल भोगिन् । निरन्तर जनताको पक्षमा उभिरहिन् । ०७४ को निर्वाचनमा तत्कालीन एमालेबाट उनी समानुपातिक तर्फबाट प्रतिनिधि सांसद् बनिन् ।

मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी झाँक्री पूर्वमाओवादी र पूर्वएमाले एक भई बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य पनि थिइन् ।

पार्टी एक भएर एकताका काम अघि बढ्दै थियो । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा केपी शर्मा ओली थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अध्यक्षकै वरियतामा थिए । पार्टीमा एकले सरकार र अर्काेले पार्टी चलाउने विवाद हुँदा अन्ततः एकीकरण टुट्ने स्थितिमा पुग्यो ।

र, २०७७ साल पुस ५ र जेठ ७ मा ओलीले दुई पटक संसद विघटन गरे । उक्त कदम असंवैधानिक भन्दै माधव प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल समूह सडकमा उभियो । त्यहीँ सडकमा थिइन्– झाँक्री पनि ।

संसद विघटनले अन्ततः एमाले टुक्रेर दुई भागमा विभाजित भयो । नेपाल समूहकी रामकुमारी झाँक्रीसहितका दर्जनौँ नेताहरु एमाले छाडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा आए । समाजवादी गठन भएपछि एमाले विचारधारा त्याँगेर पूर्ण रुपमा समाजवादी बन्ने घोषणा गरेका रामकुमारी झाँक्रीसहितका नेताहरु मन्त्री बनेका छन् ।

छोटकरीमा झाँक्रीको राजनीतिक जीवन यहीँ हो । तर, राजनीतिक जीवनमा होमिएका झाँक्रीलाई अघि बढ्न उनका श्रीमान् पशुपति पुरीको उत्तिकै साथ छ । उनलाई प्रहरीले पक्राउ गर्दा श्रीमान पुरीकै रोहबरमा रिहा गरिएको थियो ।

पुरी अहिले नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । क्याफेमा भेट भएर चिनजान भएका झाँक्री र पुरीको सम्बन्ध विवाहमा परिणत भयो । झाँक्री मगर समुदायका हुन् भने पुरी आर्य समाजका । तैपनि विचार र सिद्धान्त मिलेपछि पशुपति र रामकुमारीको चिनापर्ची भएको ५ वर्षपछि अर्थात् २०६६ माघ २९ गते विवाह भयो ।

पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् । उनी धनकुटावासी हुन् भने झाँक्री गुल्मीकि हुन् ।

साताकाे चर्चित
सम्बन्धित