ओली सुध्रिएलान् भन्ने कसैले आशा गरेका छैनन् : अध्यक्ष नेपाल
ओली सुध्रिएलान् भन्ने कसैले आशा गरेका छैनन् : अध्यक्ष नेपाल
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्वीकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् ।                   जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान-प्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले केपी ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए । ‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्वीकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने, पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने, चालेका कतिपय काम गलत भएको मान्छन् भने, देशलाई राम्रोसँग हाक्न सकिएन, भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो, त्यसको जिम्मेवारी मेरो हो भन्ने स्वीकार्छन् भने त्यसपछि नयाँ ढंगले सोच्न सकिएला’, उनले भने, ‘तर, केपी ओली सुध्रिएलान् भन्ने मान्छे कसैले आशा गरेका छैनन् ।’एमालेमा ओलीले दास र ‘एसम्यान’ मात्रै खोजी गरेको भन्दै आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे । ‘धेरैलाई लागेको थिएन संसद्‌मा हामी शक्तिको रुपमा उदाउने छौं, धेरैले कानुनी मान्यता पाउने सोचेको थिएनन्, ओलीको निकै ठूलो दबाब परेको थियो, तर त्यो कसैले टेरेनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि प्रतिनिधिसभाका सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, संसद्‌मा तमासा तमासा तमासा गर्दै नारा लगाइरहेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपजमात्रै हो ।’पूर्वप्रधानमन्त्री रहेका नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङस्‌माथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी , हवाइजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एक-एक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँछु ।’विगतका कमजोरीबाट यो सरकार मुक्त हुन सकोस् भन्ने अपेक्षा गर्दै उनले गलत, अनुचित कार्य गरेर सरकारबाट हटाउने चेतावनी आफ्ना दलतर्फका मन्त्रीहरुलाई दिएको बताए । ‘मन्त्रिमण्डल भर्खरै विस्तार भएको छ, राम्रोसँग काम गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘अनुचित कार्यलाई छुट दिन सकिँदैन, गलत गरे राख्दैनौं, हटाउँछौं ।’वाग्मती र प्रदेश नं १ मा छिट्टै आफ्नो नेतृत्वसहितको सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे । पालिका तहसम्म ५ दलीय गठबन्धन जाने भन्दै उनले घटकहरुसँग सम्बन्ध कायम गर्न, संगठन र निर्वाचनको तयारी गर्न निर्देशन दिए ।गोदावरीमा सम्पन्न एमाले विधान सम्मेलनलाई ‘तमासा’को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिष्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पूर्वसांसद शिवबहादुर देउजा, कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, माओवादी केन्द्रका तेजबहादुर मिजार, क्रान्तिकारी (माओवादी)का कान्छाराम तामाङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, जिल्ला उपाध्यक्ष रहेका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, वाग्मती प्रदेश कमिटी सदस्य कमला अधिकारीलगायतले प्रतिगमनका विरुद्ध एक ठाउँमा उभिनुपर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित