काठमाण्डाै – चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । चेन्नईको जितमा रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले ।रुतुराजले सर्वाधिक ७० रन बनाए भने रोबिनले ६३ रन जोडे । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । दिल्लीका लागि टम करणले ३ विकेट लिए भने एन्रिच नोर्टज र अभेस खानले एक/एक विकेट लिए।यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्ग्स पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै कप्तान ऋषभ पन्तले ५१, शिम्रन हिटमायरले ३७, अक्षर पटेलले १० रन जोडे ।चेन्नईका जोस हाजलउडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १/१ विकेट लिए । दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।