क्रिश्चियन र मुश्लिममा अत्याधिक बली दिइन्छ तर सनातनी संस्कृतिको बली रोक्न फण्ड खन्याउँछ पश्चिमा : पुष्पराज पुरुष
क्रिश्चियन र मुश्लिममा अत्याधिक बली दिइन्छ तर सनातनी संस्कृतिको बली रोक्न फण्ड खन्याउँछ पश्चिमा : पुष्पराज पुरुष
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

हरेक वर्ष बलीको विरोध हुन्छ तर तपाईंहरु शास्त्रको कुरा गरेर टार्नु हुन्छ। किन बली दिन पाउँनुपर्छ भन्ने हो? कसैको ज्यान लिनु धर्म कसरी हुन्छ? 

हो, तपाईं त हाम्रै ठाउँमा आउनुभयो । कसैलाई मार्नु धर्म हुनै सक्दैन। सँस्कृति र धर्म एकै पनि होइनन्। सँस्कृतिले चाहिँ उसको आफ्नो धर्म बोकेको हुन्छ। हरेक सँस्कृतिका पनि एक बेला हुन्छन्। समय वित्दै गएपछि तिनीहरु असान्दर्भिक हुन्छन्। अथवा जब हाम्रो बुझाइको तह बढ्दै जान्छ तब यी कुराहरुले पनि फरक पार्दै जान्छ।

बली दिनेहरु परमात्मासँगको मिलन गराउने सिद्ध साधक हुन्थे । त्यो भोक मेटाइदिनकै लागिमात्र हुन्थ्यो। जस्तै राम्रो पढेको डाक्टरले मात्र अपरेसनको लाइसेन्स पाउँछ र अपरेसन गर्छ। चिर्न जान्दछ भन्दैमा सबैले अपरेसन गर्दैन।

अहिले आएर बली एकदमै असान्दर्भिक भएको देखिन्छ। कारण पहिला-पहिला सिद्ध साधकहरुबाट जीव मुक्तिको लागि बली दिइने गरिन्थ्यो। बली दिनेहरु परमात्मासँगको मिलन गराउने सिद्ध साधक हुन्थे। त्यो विल्कुलै भोक मेटाइदिनकै लागिमात्र हुन्थ्यो। जस्तै राम्रो पढेको डाक्टरले मात्र अपरेसनको लाइसेन्स पाउँछ र अपरेसन गर्छ। चिर्न जान्छ भन्दैमा सबैले अपरेसन गर्दैन। यदि त्यस्ता डाक्टर नभएको खण्डमा उसको चिरफार गर्नुको अर्थ नभएजस्तै सिद्ध साधकहरु विना बलीको अर्थ छैन। त्यस्ता साधक आज छैनन्। आज परम्पराको रुपमा धान्दै आइरहेका छौं। त्यसमा विकृति छ। अर्को आज खाना पर्‍याप्त छ। अहिले मासु सोखमा खाइन्छ। त्यो बेला बाध्यता थियो। तर यहाँ बलीको विरोध पशुको मायाले नभएर हामीमा किचलो ल्याउनको लागि भएको हो।

कस्तो किचलो? 

एउटा कुरा के बुझ्नुपर्छ भने हामी सनततीहरुमा बली एकदमै कम छौं। थोरै मान्छेमात्र बली दिन्छन्। खासमा दशैंमा देवीका मन्दिरहरुमा या देवी पुजेर बली दिइन्छ। देवी मन्दिरहरुमा जनजाति पुजारी हुनुहुन्छ। ब्राह्मणले त बली दिँदैन। तर यहाँ विरोधचाहिँ ब्राह्मणको गरिन्छ। अर्को कुरा दशैंमा किन बली दिन्छस् र गाईको मासु खान पाउनुपर्छ भन्ने दुबै मुद्दामा उही मान्छे सडकमा छन्। यो कुन योजनामा भइरहेको छ भनेर पनि भुल्न भएन।

अर्को नेपाल र भारत संसारमै कम मासु खाने मुलुकमा पर्छ। बाइबल पढ्नु भएको होला त्यहाँ ठाउँ ठाउँमा बलीको कुरा गरेको छ। मलाई यस्तो भो अब मलाई फलानो जनावरको बली दे भनेर तोकिएको छ। यसको कतै विरोध भएको सुन्नुहुन्छ? 

मुश्लिममा बकर इद र अन्य चाड जनावर काट्नकै लागि मनाइन्छन्। उनीहरु त हरेक एक जना मासु खान्छन्। संसारभरिको सिंगै जनसंख्याको ३५ प्रतिशत क्रिश्चियन छन्। दोस्रो ठूलो जनसंख्या भएको मुस्लिममा पनि मासु नखाने नगन्य हुन्छन्। तिनले कति धेरै बली दिँदा हुन्। तिनको विरोध भएको देख्नुहुन्छ?

समाचारहरु सुन्नुभएकै होला, हजारौं हजार ह्वेलहरु एकसाथ काटिन्छ क्रिश्चियान देशमा। त्यो त्यहाँको संस्कृति हो। त्यो बेला समुद्र नै रातो हुन्छ। त्यो हेर्न लाखौं लाख पर्यटक समुन्द्री तटमा पुग्छन्। तिनको विरोध भएको सुन्नुहुन्छ? यसबाट नै हामी सनातनीहरुको सहिष्णु स्वाभाव भत्काउने योजनास्वरुप ल्याइएका आवाज हुन् भन्ने प्रमाण अरु के चाहिन्छ र?

सनातनीहरुकै संस्कृति मास्दा के फाइदा छ र उनीहरुलाई? 

संस्कृतिलाई मात्र हेरेर पुग्दैन। यहाँ भू-राजनीतिक कुरा जोडिन्छ। पहिलो कुरा के बुझ्नैपर्छ भने यो कम सामरिक क्षेत्र होइन। देश सानो भए पनि यहाँ १२५ जातजातिहरु छन्। एउटै धर्मका ‘तँ क्याथोलिक, तँ प्रोटेष्टियन’ भन्दै एक अर्कामा काटिएर लखौं लाख मार्ने समाज हो त्यो। हाम्रोजस्तो यति धेरै जानजाति पनि एकअर्काको संस्कृतिको सम्मान गरेर बस्ने अवस्था त्यहाँ छैन। हामीले पो बुझेका छैनौं। यो टम्म समाजमा एकअर्कामा लडाएरमात्र नेपाली समाज भत्काउन सकिने उनीहरुले बुझेका छन्। त्यसैले उनीहरु यस्तो संस्कृति भजाउने नारा लिएर फण्ड बाँड्दै छिरेका छन्। अनि यस्तो फण्ड लिएर पेट पाल्नेहरु पनि तयार छँदैछन्। हाम्रो संस्कृतिबारे हामीमा फाटो ल्याउनेलाई किन अध्ययन गर्न पर्‍यो, न हामीलाई नै गर्नु परेको छ। हामी अल्छीलाई एउटाले फण्ट जुटाइदिन्छ अनि यहाँ समाजको आधार भत्कियो या बन्यो कसलाई के मतलब?

तपाईंहरु त सात्विक भोजन गर्नुहुन्छ। खासमा माछा मासु खानु र नखानुले हाम्रो शरीर मन र चित्तमा फरक पर्छ? 

मान्छे सतो गुणी, रजो गुणी र तमो गुणी गरेर तीन प्रकारको हुन्छन्। यो खानाकै आधारमा तयार हुने हो। सतो गुणी आफ्नो कारणले शरीर, मन या बचनले अरुलाई असर नै नगरोस् भनेर सचेत रहन्छ। ऊ अरुको बाधा बन्न चाहँदैन। रजो गुणी आफ्नो स्वार्थमा घुमिरहेको हुन्छ। आफ्नो अनुकूलमात्र कुरा गर्ने हुन्छ। भोगवादी मानसिकताको हुन्छ। तमो गुणी इन्द्रीयलाई सक्रिय राख्न पनि अनेक विधि अपनाउँछ। जसले सत्यको अनुभूत नै गर्न पाउँदैन। यसरी विभिन्न विधि विधानका बाटा छन्। जुन मार्ग आफूलाई राम्रो लाग्छ त्यही मार्गमा अघि बढेर जान भन्छ शास्त्रले। मासु, मादक पदार्थ खाएर यस्तै चेत लिएर जाने या सात्विक भएर रहने क्षनौट आ-आफ्नै हुन्छ। कस्तो खान्की खानुहुन्छ त्यही अनुसारको विचार निमार्ण हुन्छ। किनकि हार्मोन पनि खानको आधारमा नै तयार हुने हो। रिस पैदा गर्ने, प्रेम पैदा गर्ने खानाबाटै तयार हार्मोनले हो। आज त तरकारीमा पनि विष छ। यस्ता कुराले तमो गुण उत्पन्न हुन्छ। तमो गुणी समाजमा गुरु पनि तमोगुणी हुन्छन्। त्यसैले पनि सात्विक अभियान चलाउन जरुरी भइसकेको छ।

शास्त्रमा खा वा नखा भनेर भन्दैन। के खाँदा कुन गुण उत्पन्न हुन्त त्योमात्र सिकाउँछ। खाने या नखाने कुन गुणमा बस्ने छनौट आफ्नै हो। हाम्रोमा त अहिले टोल टोलमा मासु पसल छन्, रक्सी पसल खेलेका छन् तर आश्रम छैनन्। भएका मठ मन्दिर पनि भत्काउन अभियान चलाइन्छ।

के का लागि यो आन्दोलन गरिन्छ त ?  

हो तपाईंलाई म यही कुरा सम्झाउन खोजिरहेको थिएँ। हामीले मुस्लिमको बकर इद चाड हेरे पुग्छ। यसमा बाख्रोको बली दिइन्छ। क्रिश्चियन र मुस्लिम भनेका एउटा देवता मान्नुपर्छ भन्ने अतिवादीहरु हुन्। हामी सनातनीहरु ईश्वर त हाम्रो एकै हुन्छ त्यो निराकार छ, हामी प्राकृतिक पूजक हौं। त्यो ब्रह्म हो, तर हामी ३३ कोटी देवता मान्छौं। प्रकृतिका हरेक चिज पुज्न लायक छ त्यो ईश्वरको श्रृष्टि हो भन्छौं। उनीहरु त बाइबलमा नै हिब्बी परोजी, किर्गासीजस्ता जातिहरु देख्नासाथ काटीदिनु भनेको छ।

दुई हजार वर्षअघि बाट मात्र सुरु भएको उनीहरुको संसकृति पनि हाम्रोभन्दा क्रूर छ। उनीहरु खासमा एकअर्कोलाई सहनै सक्दैनन्। हाम्रोजस्तो हजारौं हजार वर्षदेखि रहेको धार्मिक मान्यता फाल्न सक्नु नै उनीहरुले जित ठान्छन्। यो सँस्कृतिकमात्र नभएर राजनीतिक मिसन पनि हो। यसैका लागि यो सब झमेला भइरहेको छ।

(तपाईंहरूले पुरानो करारको लेबी पुस्तकको(६को २पद), ब्यवस्थाको(१७को १पद) स्यामुएलको(१५को २१पद )हेर्नुहोला। त्यहाँ हरेक जनावारको बली दे भनेर एशु आफैँले भनेको उल्लेख छ। त्यस्तै प्रस्थान र उत्पत्तिको पुस्तकमा पनि बलीको बारेमा उल्लेख छ। हिन्दू सनातनीहरूको त जनसंख्या नै थोरै छ। त्यसमा पनि सीमित मान्छेले बली दिन्छन्। अनि हाम्रो संस्कृति नै उनीहरूको तारो हुन पर्ने। विरोध गर्न फण्ड यतै लगाउन पर्ने किन हो कुरा नुझ्न अफ्ठेरो छ र?)

तपाईँहरु सधैं विदेशी लगानीका कारण विरोध भएको भन्नुहुन्छ। के यहाँका सबै संस्कृति ठीक छन् त? 

संस्कृति त समाजलाई आवश्यकता भएपछि तयार हुने हो। हजारौं सालदेखि हाम्रा धेरै संस्कृति विलाए, केही संस्कृति साथ आएका पनि छन्। वैज्ञानिक भएकै कारण परिस्कृत हुँदै समयानुकूल बन्दै साथ रहे। अर्को यहाँ संस्कृतिक कुरामात्र जोडिएको छैन। हाम्रो देश दुई ठूला शक्तिको बीचमा छ। संसारको शक्ति केन्द्र बदलिएर अहिले चीनतिर सोझिएको छ। त्यसको साथैमा छ भारत। जो झण्डै झण्डै पछि पछि कुदिरहेको छ। यसले गर्दा पश्चिमाहरु पनि नेपालमा कब्जा जमाउन पाए यतै रहेर चीनलाई धमास दिन पाउँथे भन्ने दाउँमा छन्। अन्यका पनि शक्तिसँग खेल्न सौखले यतै केन्द्रित छन्। यसरी धेरैका काम गर्ने थलोको रुपमा नेपाललाई प्रयोग गर्न उनीहरुको जस्तै संस्कृति लाद्न चाहन्छन्। त्यसकारण पनि उनीहरु पैसा लगानी गरेर हाम्रा संस्कृति नामेट पार्न उनीहरुलाई सहज बाटो खोजिरहेका छन्। नभए हिन्दूहरु कसैको धर्म परिर्वतन गर, तेरो संस्कृति खत्तम छ भन्दै जान्छ? जाँदैन, किनकि हामीलाई उसको सँस्कृति बदलेर कुनै योजना पूरा गर्नपर्ने छैन। तर उनीहरु भने बली उनीहरुकैमा हुँदाहुँदै हाम्रोमा भएको संस्कृति मास्न र जातजातिमा फुट ल्याउन आएका छन्। यसरी स-साना कुराबाट छिरेर हामीमा फाटो ल्याइ उनका उद्देश्य पूरा गराइदिन हामी विभाजित भइरहेका छौं।

बलीको प्रसंग जोडौं, कसैले त साग टिपेर खानु पनि मारेसरह हो। त्यसैले बली दिन पाउनुपर्छ पनि भन्नुहुन्छ नि? 

त्यो वाइयात तर्क हो। प्रकृतिको नियमलाई नमान्नु हो। बच्चा जन्मिनेवित्तिकै आमाको दुध खान्छ। त्यसलाई आमाको रगत खाएको मान्न सकिन्छ त? सकिँदैन। यो प्रकृतिले तिम्रा लागि केही चिज बनाइदिएको छ। जनावरमा पाँच वटा चेतना हुन्छ। यो मान्छेको भन्दा एउटा चेतनामात्र कम हो। त्यसैगरी वनस्पतिमा न्यूनतम चेत हुन्छ। वनस्पति चुढेको ठाउँबाट फेरि पलाउन सक्छ। तर जनावार त एकपटक लिएपछि ज्यान नै जान्छ। हाम्रो शस्त्रमा वनस्पित कतै वर्जित गरेको छैन।

बली शस्त्रमा पनि छ तर सात्विक पनि हुनपर्छ भन्ने विरोधाभाष भएन र ? 

मैले माथि पनि भनेँ कुनै बेला मासु खानु आवश्यकता थियो। अहिले सौखले खाइन्छ। अर्को कुरा हिजो सिद्ध साधकहरुले बली दिन्थे आज त्यस्ता साधक छैनन्। अनि अर्को कुरा शास्त्रले नखा या खा होइन के खाँदा कुन गुण पैदा हुन्छ भनेर यति धेरै लेखिदिएको छ। सतो गुणीले फलफूल चढाउँछन्, त्यही खान्छ। तमो गुणीले मादक पदार्थ चढाउँला। अर्कोले बली नै चढाउँला र त्यही खाला। जे खाएर जुश्न गुणमा आफूलाई राख्ने निर्णयचाहिँ हाम्रो हो।

साताकाे चर्चित
सम्बन्धित