संसद् अवरोधले अध्यादेश निष्क्रिय: मन्त्री रेग्मी
संसद् अवरोधले अध्यादेश निष्क्रिय: मन्त्री रेग्मी
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताएका हुन् ।

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुन ः सक्रिय बनाउने उनको भनाइ थियो । उनले भने, “अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछाँै ।” हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
महिला तथा बाबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उनले भने, “अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौं ।”मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पुर्याउने गरी सरकारले काम गर्ने बताए । उनले भने, “हुनेखानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ ।” सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । उनले थपे, “स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ ।” विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताए । आफूले सम्हालेको मन्त्रालयमा केही ठोस काम गर्नुपर्ने देखिएको बताउँदै उनले नीतिनिर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताए । फरक प्रसंगमा बोल्दै उनले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरे । गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उनले अब रोकिएका कामहरु सहज रुपमा अगाडि बढ्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित