भर्चुअल मुद्रा लगानी घोटालामा मान्छे फसाउन डेटिङ एपको प्रयोग
भर्चुअल मुद्रा लगानी घोटालामा मान्छे फसाउन डेटिङ एपको प्रयोग
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

जापानभर पछिल्लो समय डेटिङ एप प्रयोग गरेर मानिसहरुलाई भर्चुअल मुद्रामा लगानी गर्नका लागि फसाएको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरुको एक आपसमा भेटघाट हुने क्रम पातलिएपछि डेटिङ एपको प्रयोग बढ्दा यस्ता घटनाहरु धेरै भएको अनुमान गरिएको छ । भर्चुअल मुद्रामा हुने कारोबार पत्ता लगाउन कठिन हुने भएकोले सम्बन्धित पक्षहरुलाई सतर्क रहन अनुरोध गरिएको छ ।होक्काइदो प्रिफेक्चरल प्रहरीले यही वर्षको मार्चमा यससम्बन्धी धोकाधडीको पहिलो मामिला देखेको थियो । अनुसन्धान विभागका अनुसार ३० देखि ६९ वर्षबीचका नौ जना पुरुष र महिला मार्चयता यस्ता कान्डमा फसेका छन् । यी घटनामा १० करोड येन भन्दा बढीको क्षति भएको बताइएको छ । पीडितमध्ये पाँच जनाले डेटिङ एपको प्रयोग गरेका थिए ।हरेक घटनामा एउटै खालको युक्ति अपनाएको देखिएको छ । हङकङ र ताइवानमा बस्छु भनेर दाबी गर्ने अनि अंग्रेजी वा टुटे फुटेको जापानी बोल्ने गैर जापानी पुरुष र महिलाहरुले पीडितहरुसँग प्रत्यक्ष म्यासेज पठाएर कुराकानी गरेका थिए । विश्वास जित्न ठगहरुले पीडितसँग माया पिरतीका कुरा गर्ने मात्रै नभएर उनीहरुको दुःख पिर समेत सुन्ने गरेको बताइएको छ ।त्यसपछि उनीहरुले पीडितलाई भर्चुअल मुद्रामा लगानी गर्दा सहजै पैसा कमाउन सकिन्छ भन्ने कुरामा विश्वस्त पारेर सोही प्रयोजनका लागि प्रयोग गरिदिने भन्दै पैसा मागे । शुरुमा पीडितहरुलाई नक्कली लगानी साइटमा करीब २ लाख येन बराबरको बिट्क्वाइन लगायत भर्चुअल मुद्रा किन्न फकाइयो । यस लगानीबाट करीब ३० देखि ४० प्रतिशत नाफा भएको पनि देखाइयो । यस्तो पटक पटक भयो । सोही अनुरुप लगानीको रकम पनि बढ्दै गयो ।तर आफूले गरेको लगानीलाई नगदमा परिवर्तन गर्छु भनेर पीडितले इच्छा देखाएपछि सो रकम निकाल्न ठूलो लगानी आवश्यक रहेको बताइयो । स्क्यामरहरुले अतिरिक्त १० लाख देखि २० लाख येन सम्म मागे अन्ततः उनीहरुले पीडितसँग सम्पर्क विच्छेद गरे । पीडितहरुले प्रहरीसँग सम्पर्क गर्दा समेत केहीले आफूहरु ठगीमा परेको महसुस नगरेको अनुसन्धानमा संलग्न एक स्रोतले बताएको छ । मानिसहरुलाई शुरुमा थोरै नाफा भइरहेको छ भन्ने देखाइएकोले उनीहरुले त्यही कुरामा विश्वास गरेर फसेको देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित