१०० वर्षअघिको बानेश्वर : त्यो बेला बानेश्वरभरि पहेँलै तोरी फुल्थ्यो
१०० वर्षअघिको बानेश्वर : त्यो बेला बानेश्वरभरि पहेँलै तोरी फुल्थ्यो
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

वानेश्वरमा जन्मेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल हालसम्म बानेश्वरमै क्रियाशील छन् । एक शताब्दीअघिको बानेश्वरको तस्वीर चित्र खिच्ने किताब ‘बानेश्वर सेरोफे खरो’ प्रकाशनको तयारीमा रहेका अर्यालको बानेश्वर वयान :

मैले ६५–६६ वर्षयता बानेश्वर नियाल्दै आएको छु । २०११/०१२ सालतिरको बानेश्वर धेरै टोल भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै टोल पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन ।

अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका टोलहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँलाई त्यो बेला ब्यारेक भन्थे । त्यतिबेला अहिलेको बत्तीसपुतली–गौशालासम्मलाई नै बानेश्वर भनिन्थ्यो । वडा नम्बर १० र ३१ को पारीपट्टि अहिले पनि ‘पुरानो बानेश्वर’ लेखेको साइनबोर्ड भेटिन्छ ।

त्यतिबेला डिल्लीबजारबाट बानेश्वर आउने एउटा सडक थियो । बबरमहलबाट ब्यारेक आउने अर्को सडक थियो । १९९३/९४ सालतिर मीनशम्सेरका लागि अर्को दरबार बन्यो । त्योबेला अरु बाटोघाटो थिएन, जसको खेतको आलीबाट पनि मानिसहरु आउजाउन गर्न पाउँथे, रोकटोक थिएन । वस्तुभाउले बाली खाइदेलान् भनेर कतिपय ठाउँमा ठूलो आली बनाएर काँडाघारी उमारिएका हुन्थे ।

०२०/२१ सालतिर जगदिशशम्शेर राणाले बानेश्वर हाइटको बाटो बनाए । त्यहाँ उनले निकै जग्गा किनेछन् । तल एउटा घर रहेछ । आफ्नो जग्गामा जान बाटो चाहियो भनेर उनी त्यो घरपनि किनेर बाटो खुलाए ।

पहिला बानेश्वर हाइटमा राजा त्रिभुवनको हजुरिया कर्णेल बस्ने घर थियो । त्यो घरसम्म आउन हात्ती हिँड्ने बाटो थियो । अहिले एभरेष्ट होटल भएको ठाउँमा कर्णेल गणेशबहादुरको घर थियो । छक्कुबक्कु भगवती मन्दिरबाट त्यहाँसम्म मुश्किलले बग्गी जाने बाटो थियो ।

भीमसेनगोलामा श्यामबहादुर शाह (बहादुर शाहका सन्तान) बस्थे । श्यामबहादुर सायद बहादुर शाहका पनाती थिए । उनी भीमसेनेश्वरी राणाको हजुरिया कर्णेल थिए । त्यहाँसम्म पनि बग्गी आउने बाटो थियो । त्यो बाहेक जनता जनार्दनका लागि आ–आफ्नो गोरेटो बाहेक कुनै बाटो थिए ।

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । म त्यतिबेला जागिर खान थालेको थिएँ, बस चढ्न जाँदा कण्डक्टरहरुले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिएका हुन् ।

पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरुले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि त बुद्धनगर, शान्तिनगर, सुरुचीटोल आदि अनेक नाम जन्मिए ।

०००

म २०१५ सालमा १० वर्षको थिएँ । भर्खरै गाउँ फर्क राष्ट्रिय अभियान शुरु भएको थियो । धुले सडकमा एउटा जीप आउँथ्यो । त्यसमा गीत घन्काइएको हुन्थ्यो, ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो… ।’

हामी केटाकेटी बेपरवाह त्यो जीपको पछाडि कुद्थ्यौं, शरीर धुलैधुलो हुन्थ्यो । त्यतिबेला बानेश्वरबाट सूर्यप्रसाद उपाध्याय निर्वाचनमा उठेका थिए । संयुक्त प्रजातन्त्र पार्टी भन्ने उनको दल थियो । मेरा मामा कृष्णप्रसाद पराजुली लगायतहरुबीच कसलाई भोट दिने भनेर छलफल हुन्थ्यो । हामी पिँढीमा बसेर ती कुरा सुन्थ्यौं । को कांग्रेस, को कम्युनिष्ट ? केही भेउ पाउँदैनथ्यौं ।

बानेश्वर राणाहरुका आठपहरिया बस्ने ठाँउका रुपमा चर्चित थियो । त्यो भन्दा पहिले मगरहरु रहेछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा उनीहरु काठमाडौं भित्रिएको हुनुपर्छ । १९८०/९० सालतिर काठमाडौंका कतिपय ठूलाबडाले मगरसँगै जग्गा किनेको कागजात भेटिन्छ ।

साताकाे चर्चित
सम्बन्धित