किन बढ्छन् दसैंमा सवारी दुर्घटना ?
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार
किन बढ्छन् दसैंमा सवारी दुर्घटना ?

यो दसैंका ७ दिनमै ४८५ सडक दुर्घटनामा परी ८९ जनाले ज्यान गुमाएका छन् भने ७५३ जना घाइते भएका छन् ।

– प्रहरीकाअनुसार दुर्घटनाका ४ कारण–सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, यात्रुको संख्या बढी हुनु र एक जनामात्रै चालक हुनु ।

काठमाडौँ — गत मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा बस दुर्घटना हुँदा १० महिलासहित ३२ जनाले ज्यान गुमाए । उनीहरुमध्ये २४ जनाको घटनास्थलमै र बाँकीको उद्धार र उपचारको क्रममा मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार नेपालगन्जबाट मुगुतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस टायर पङ्चर भएर पड्किएपछि अनियन्त्रित भएको थियो ।

बस सडकबाट दुई सय मिटरभन्दा तल खसेको हो । बस नै टुक्रा–टुक्रा भएको छ । बेलैमा उद्धार गर्न सफल भयौं, नत्र अरुलाई पनि बचाउन कठिन थियो,’ प्रजिअ महतले इकान्तिपुरसँग भने, ‘मर्नेमध्ये ५ जनाको शव नेपालगन्ज पठायौँ । बाँकी सबै मुगुकै हुन् । धेरै जना युवा विद्यार्थीहरु नै थिए ।’ दुर्घटनामा घाइते १३ जनाको उपचार भइरहेको उनले बताए ।

सोमबारमात्रै पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए । ग १ ज ६९०० नम्बरको बोलेरो कलाभीर भन्ने ठाउँमा सडकबाट १ सय मिटर तल खसेको थियो । दसैंको मुखैमा भएका यी दुई सडक दुर्घटनाले लामो–छोटो यात्रा गर्ने यात्रुको मनै सिरिङ्ग बनाए । दुर्घटनापछि सिंगो मुगु नै शोकमग्न बनेको छ । दसैंतिहारजस्ता चाडपर्वका बेला जब यात्रुको चाप बढी हुन्छ, यस्तै ठूलठूला दुर्घटना हुने गरेका छन् ।

तथ्यांकले पनि मानिसहरुको आवतजावत बढी हुँदा दुर्घटनाको दर बढेको देखाउँछ । दसैंमा पढाई, रोजगारी र अन्य कारणले सहरमा बसेकाहरु परिवार, नातेदार र आफन्तलाई भेट्न, टीका लगाउन गाउँ जान्छन् । त्यही कारण दसैंअघि घर जाने र दसैंपछि घरबाट फर्किनेहरुको भीडले सार्वजनिक सवारी साधन चढिनसक्नु हुन्छ । प्रहरीकाअनुसार यो वर्षको घटस्थापनादेखि बिहीबार बिहानसम्म अर्थात् ७ दिनमै सडक दुर्घटनामा परी ८९ जनाको ज्यान गएको छ । देशभर भएका ४८५ वटा सडक दुर्घटनामा ७५३ जना घाइते भएका छन् ।

दुर्घटना भएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । ३८४ वटा मोटरसाइकल दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने ५७५ जना घाइते भएका छन् । त्यस्तै, ३३ वटा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते छन् । यो ७ दिनमा कार १५, जिप २९, ट्याक्टर २० र टिपर ४ वटा दुर्घटना भएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ७ जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ । तर, दसैंका दिनमा यस्तो संख्या थप वृद्धि हुन्छ । ‘अरु बेला निजी सवारी साधनको दुर्घटना दर ठूलो हुन्छ । दसैंका बेला सार्वजनिक यातायात नै दुर्घटनामा पर्छन्, जसले गर्दा थोरै दुर्घटना हुँदा पनि धेरै मानवीय क्षति हुन्छ,’ प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले भने ।

प्रहरीका अनुसार ०७७ सालको दसैंमा घटस्थापनादेखि पूर्णिमासम्म ११४ जनाको ज्यान गएको थियो । ८५६ वटा दुर्घटनामा १२३६ जना घाइते भएका थिए । ०७६ सालको दसैंमा ७०० दुर्घटनामा १११ जनाको मृत्यु भएको थियो भने १०१० जना घाइते भएका थिए । त्यस्तै, ०७६ को दसैंमा १२९ जनाको मृत्यु भएको थियो । ५६८ दुर्घटनामा परी ८५७ जना घाइते भएका थिए ।

प्रहरी प्रवक्ता कुँवरले दसैंमा यात्रुको संख्या धेरै हुने, तर त्यसलाई थेग्न सक्ने सवारी साधन र सडक नहुँदा दुर्घटना हुने गरेको बताए । उनका अनुसार दुर्घटनाका ४ कारण छन्—सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, यात्रुको संख्या बढी हुनु, नियमित रुपमा एक जनामात्रै चालक हुनु ।

‘दसैंको बेलामा यात्रुको अत्यधिक चाप हुन्छ । तर, गाडी थपिएका हुँदैनन् । सडक पहिलेकै जतिमात्रै हो । जहाँ सवारी चाप बढ्छ, त्यहाँ दुर्घटनाको सम्भावना यसै पनि बढ्छ,’ उनी भन्छन्, ‘यात्रुको संख्या एकैपटक बढेपछि एउटै सवारी एकैदिन पटक–पटक प्रयोग हुन्छ । चालक एउटै हुन्छ । सवारी साधन मर्मत नियमित हुन पाउँदैन । त्यहीकारण बढी दुर्घटना हुने भइरहेका हुन्छन् ।’

यातायात कम्पनी र चालकहरुको थोरै बढी कमाउने लोभले क्षमताभन्दा बढी यात्रु बोक्न तयार हुने कारणले पनि दुर्घटना निम्तिने गरेको उनले बताए । ‘यातायात साधन भनेको मेसिन हो । यसलाई नियमित मर्मत सम्भार सरसफाई र रेस्ट दिनुपर्छ । दसैंका लागि त्यस्तो कुरामा ध्यान दिइँदैन । पहाडी क्षेत्रमा त थोत्रा गाडी हुन्छन् । त्यसमाथि क्षमताभन्दा धेरै यात्रु बोकेपछि दुर्घटना निम्तिने हो,’ कुँवरले भने ।

सडक सुरक्षा विज्ञ एवम् सुरक्षित र दीगो यात्रा नेपालका अध्यक्ष हेमन्त तिवारी पनि दसैंतिहार जस्ता चाडपर्वका बेलामा लामो दुरीका सार्वजनिक यातायात दुर्घटनाले वर्सेनि ठूलो क्षति हुने गरेको बताउँछन् । ‘मान्छेहरुको आवतजावत बढेपछि सवारी चाप पनि बढ्छ । त्यसले गर्दा दुर्घटना पनि अरुबेला भन्दा बढी हुन्छन् । दसैंतिहारजस्ता चाडपर्वका बेला अरुबेला भन्दा करिब १० प्रतिशत बढी दुर्घटनाहरु हुने गरेको पाइन्छ,’ तिवारी भन्छन्, ‘यसको मुख्यकारण क्षमताभन्दा बढी यात्रु बोक्नु नै हो ।’

चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दुरीका सवारी साधनका चालकले पालो पाउँदैनन्, न त सवारीसाधनको नियमित परीक्षण र मर्मत सम्भारको लागि पर्याप्त समय । अरुबेला ५ दिनमा १ दिन पालो पाउने सवारीसाधनले चाडपर्वका बेला हरेक दिन गुड्नुपर्छ । त्यसकारण गाडीको इन्जिन र मेसिनरी सामानहरुमा क्षति पुग्छ । निरन्तरको सक्रियताले चालक पनि मानसिक र शारीरिक दबाबमा पर्छन् ।

तिवारीले उदाहरण दिँदै भने, ‘मानौं, सुर्खेतबाट काठमाडौं आउने गाडी दिउँसो १२ बजे आइपुग्छ । चालकले २ घण्टा आराम गर्न पाएका हुँदैनन्, फेरि गाडी लिएर हिँडिहाल्नुपर्छ, कम्पनीले अर्को चालकको व्यवस्था गरेका हुँदैनन्, एउटै चालकले आज गाडी लिएर आउँछ, भोलि फेरि उसैले गाउँ–गाउँ पुर्‍याउँछ, त्यसकारण चाडपर्वका बेला लामो दुरीका सवारी साधनमा चालक पनि तनावमा हुन्छन् ।’

सहरी क्षेत्रमा भने चाडपर्वका बेला मदिरा सेवन दुर्घटनाको कारण रहेको उनी बताउँछन् । ‘मानिसहरुले मापसे गर्ने र द्रुत गतिमा सवारी गुडाउने गर्नाले चाडपर्वका बेला धेरैजसो दुई पाङ्ग्रे र निजी सवारी साधनहरुको दुर्घटना हुन्छ । अहिले काठमाडौं र ठूला सहरमा दिनमै ८–१० वटा मोटर साइकल दुर्घटना भइरहेका छन्, त्यसको कारण यही हो ।’

उनले दुर्घटनाको अर्को कारण सडकको दुरावस्था रहेको बताए । ‘सरकारले सडकलाई व्यवस्थित गर्न सकेको छैन । सडकमा न जेब्राक्रसिङ छ, न पैदल यात्रु हिँड्ने बाटो, त्यसकारण पनि धेरै दुर्घटनाहरु भएका छन्,’उनी भन्छन्, ‘दसैंमा पहाडी र हिमाली जिल्लामा ठूलो जनधनको क्षति हुने गरी दुर्घटना भइरहेका छन्, त्यो भनेको सडकको कारण पनि हो । वर्षा र झरीले भत्किएका/बिग्रिएका सडक सरकारले समयमा मर्मत नगरेका कारणले पनि दुर्घटना हुने गरेका छन् ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक अध्ययनले भने नेपालमा वार्षिक ५ हजार जनाको सडक दुर्घटनाबाट ज्यान जाने गरेको छ । त्यस्तो मृत्यु हुनेमध्येमा ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला छन् । चालकको लापरबाही, सवारी अति तीव्रगतिमा हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सवारी साधनको यान्त्रिक गडबडीका कारण सवारी दुर्घटना भइरहेको डब्लुएचओको निष्कर्ष छ ।

राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरबाही, यात्रुहरुको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्यता, ट्राफिक संकेतको अभावलगायतका कारण सवारी दुर्घटना बढिरहेको डब्लुएचओको प्रतिवेदनले भनेको छ ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित