पाथीभराका मानव ट्याक्सी, तौल सोधेर भाडा निर्धारण !
पाथीभराका मानव ट्याक्सी, तौल सोधेर भाडा निर्धारण !
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भरियाको सुविधा रहेको छ । यातायातअन्तर्गत सवारी साधन (गाडी) र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि शहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यहि अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै नै सजिलो रहेको छ । करिव दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुङ्गा बिछ्याइएको छ । पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि शुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर रहेको छ । करिव अढाइ घण्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । यद्यपि, उकालो र ओरालो हिड्नुपर्ने हुँदा ज्येष्ठ नागरिक, बालबालिका तथा हिड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ

पदयात्रा गर्न नसक्नेहरुका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलो एकसय रुपियाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । धामदेखि पुनः फेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एकसय रुपियाँ नै तिर्नुपर्ने हुन्छ ।

यता भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई÷चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोही अनुसार ढुवानी रकम लिने गरेको बताउनुभयो । भरिया सुविधा १५–२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको शेर्पाले बताउनुभयो । धेरै तौल हुने तीर्थयात्रीलाई तीन÷चार जनाको समूह मिलेर बोक्ने गरेको भरिया बताउँछन् ।
उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्नलाई गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरुको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्युनतम् तीन हजार रुपियाँ रोज बस्ने पनि उनीहरु बताउँछन् । भरियाको कार्य गर्नलाई तीनसय बढीले सम्पर्क गरेका भए पनि अहिले दशैँ तिहारको मौसममा करिव एकसय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घले जनाएको छ । भरियाको काम गर्नेमा केही महिलासमेत रहेका छन् । तीर्थयात्री र उनीहरुको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित