चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट
चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

चीन सरकारले प्रविधि कम्पनीहरुमाथिको हस्तक्षेपमा वृद्धि गरेसँगै माइक्रोसफ्टले चीनमा सोसल मिडिया प्लाटफर्म लिंक्डइन बन्द गर्ने भएको छ ।

सञ्चालनको वातावरण चुनौतिपूर्ण बन्दै गएको भन्दै लिंक्डइन बन्द गर्ने निर्णय गरिएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टको इन्जिनियरिङ विभागका उपाध्यक्ष मोहाक श्रोफका अनुसार अब चीनमा करिअरमा लक्षित नेटवर्किङ प्लाटफर्म लिंक्डइनको साटो जागिरका लागि निवेदन मात्र दिन सकिने नेटवर्किङ वीहिन एप्लिकेसन सुरु गरिनेछ ।

बिहिबार एक ब्लग पोष्टमा श्रोफले भनेका छन्, ‘हामीले चीनमा उल्लेख्य रुपमा बढि भन्दा बढि चुनौतिपूर्ण कार्यसञ्चालन वातावरणको सामना गरिरहेका छौँ र चीनमा नियम कानूनको पालनाको दायित्व पनि बढिरहेको छ।’

वालस्ट्रिट जर्नलका अनुसार आफ्नो प्लाटफर्ममा सामाग्रीहरुको निगरानी गर्नका लागि चिनिया इन्टरनेट नियामक निकायले लिंक्डइनलाई समयसीमा दिएको थियो ।

प्रयोगकर्ताका डाटाको आक्रामक रुपमा संकलन तथा व्यापारिक उपयोग गर्ने तथा एकाधिकारवादी शैली अबलम्बन गर्ने गरेको भन्दै चीन सरकारले देशमा सञ्चालित प्रविधि कम्पनीहरुमाथि कडा नियन्त्रणको नीति अख्तियार गर्ने गरेको छ । मूलभूत सामाजिक मूल्यमान्यताहरुलाई सक्रिय रुपमा प्रवर्धन गर्न भन्दै चीन सरकारले प्रविधि कम्पनीहरुमाथि नियन्त्रणमा वृद्धि गरिरहेको छ ।

श्रोफका अनुसार अब माइक्रोसफ्टले लिंक्डइनको चिनिया संस्करण बन्द गरेर क्ष्लव्यदक एप्लिकेसन सुरु सुरु गर्नेछ जसले देशका जागिरको खोजीमा रहने व्यवसायिक व्यक्तिहरुलाई कम्पनीहरुसँग जोड्नेछ ।

चीनमा सन् २०१४ मा लिंक्डइन सुरु भएको थियो । माइक्रोसफ्टले सन् २०१६ मा २६ अर्ब डलरमा लिंक्डइन खरीद गरेको थियो ।

चीन सरकारको कडा नीति तथा सेन्सरसीप सँगै चीनले गत मार्च महिनादेखि चीनमा नयाँ प्रयोगकर्ताको खाता खोल्ने कार्य रोकेको थियो । त्यसको दुई महिनापछि नै चीन सरकारको इन्टरनेट नियामक निकायले अवैध रुपमा प्रयोगकर्ताका डाटाहरु संकलन तथा प्रयोग गर्ने १ सय ५ वटा एपको सूचि सार्वजनिक गरेको थियो, जसमा लिंक्डइन पनि परेको थियो ।

स्मरण रहोस् चीनमा एक दशकअगाडि देखि नै फेसबुक र ट्वीटर प्रतिबन्धित छन् । त्यस्तै ह्याकिङ र सेन्सरसीपका कारण गुगलले सन् २०१० मा चीन छाडेको थियो ।

चीनमा इ कमर्श प्लाटफर्म अमेजन उपलब्ध रहेको भएपनि अलिबाबा र जेडी डटकमले स्थानीय बजारमा प्रभुत्व जमाइरहेका छन् । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित