अफगानिस्तानमा गरिबीले हतासिएका अभिभावक ऋण तिर्न छोराछोरी बेच्दै
अफगानिस्तानमा गरिबीले हतासिएका अभिभावक ऋण तिर्न छोराछोरी बेच्दै
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार

काबुल । अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ ।

जस्तै पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन् । उनले ५५० डलर चुकाउनु थियो तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन् ।

उनी भन्छिन््, “यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म मेरो बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ । किनकी मलाई आज राति हामीले के खाने पनि थाहा छैन । छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।”

उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो । उनी भन्छन्, “मसँग पनि त पैसा छैन । र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन ।”

गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

पछिल्लो दुई दशक अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो तर राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढेको छ । यसअघि बाइडेन प्रशासनले तालिबानका श्रोतसाधन सीमित गराउन भनेर देशको झन्डै १० अर्ब डलर बराबर रकम रोक्का गरिदिएका थिए । तर, उनको यस कदमले अफगानीहरुलाई बढी हानी पुग्नेछ भनेर आलोचना पनि गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित