अन्तर्राष्ट्रिय हवाई उडानमा नेवानीलाई हिमालयले उछिन्यो
अन्तर्राष्ट्रिय हवाई उडानमा नेवानीलाई हिमालयले उछिन्यो
    • Bell Sanchar

    • २ कार्तिक २०७८, मंगलवार

काठमाडौं । उडान र यात्रु संख्याका दृष्टिकोणबाट अन्तर्राष्ट्रिय उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उछिनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सेप्टेम्बर २०२१ को एक महिनाको अवधिमा हिमालय एयरलाइन्सले सबैभन्दा धेरै उडान गरेको छ । नेपाल एयरलाइन्स भने दोस्रो स्थानमा झरेको छ । यात्रु संख्याको दृष्टिकोणबाट भने कतार एयरवेज प्रथम स्थानमा रहेको छ । हिमालय दोस्रो स्थानमा छ भने नेपाल एयरलाइन्स तेस्रो स्थानमा झरेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सेप्टेम्बर महिनामा त्रिभुवन विमानस्थलबाट कुल १०९३ उडान–अवतरण भएका छन् ।

हिमालय एयरलाइन्सले कुल २५७ उडान–अवतरण गरेको छ । नेपाल एयरलाइन्सको मात्र १८६ उडान–अवतरण रहेको छ । एक महिनाको अवधिमा कतार एयरवेजले १५० उडान–अवतरणमार्फत ३४,०४३ जना यात्रुलाई सेवा दिएको छ । हिमालयले कुल २६,८१० जना यात्रुलाई सेवा दिएको छ । यसै अवधिमा नेपाल एयरलाइन्सले भने मात्र २५,७८८ जना यात्रु बोकेको तथ्यांकमा देखिएको छ । हिमालयले कार्गो समेत नेपाल एयरलाइन्सको तुलनामा बढी बोकेको छ । लामो समयदेखि कर्मचारी आन्दोलन, अस्तव्यस्त व्यवस्थापन र सरकारी वेवास्ताका कारण नेपाल एयरलाइन्स धरासायी बनिरहेको छ । यसको फाइदा निजी क्षेत्रलाई पुगेको हो ।

दुई दर्जन कम्पनीले बोके १ लाख ४२ हजार यात्रु

एक महिनाको अवधिमा दुई दर्जन वायुसेवा कम्पनीले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उडान–अवतरण गरेका छन् । हिमालय र नेवानिसहित यी कम्पनीले कुल १,०९३ वटा उडान अवतरण गरेको कार्यालयको तथ्यांकमा देखिएको छ । यी उडान–अवतरणमार्फत कुल १ लाख ४२ हजार ८ सय ९५ जना यात्रुले सेवा लिएका छन् । यात्रु कतार, हिमालय र नेपाल एयरलाइन्सपछि चौथो स्थानमा फ्लाई दुबई रहेको छ । यो कम्पनीले कुल १०४ उडान–अवतरणमार्फत १४,४९५ जना यात्रुलाई सेवा दिएको छ । एक महिनाको अवधिमा कुल १८ वटा चार्टर्ड उडान भएको तथ्यांक छ । यी उडान–अवतरणमा ५१७ जना यात्रुले सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा धेरै यात्रु बोक्ने ५ एयरलाइन्स

कतार एयरवेज : ३४०४३ यात्रु/१५० उडान–अवतरण

हिमालय एयरलाइन्स : २६८१० यात्रु/२५७ उडान–अवतरण

नेपाल एयरलाइन्स : २५७८८ यात्रु/१८६ उडान–अवतरण

फ्लाइ दुबई : १४४९५ यात्रु/१०४ उडान–अवतरण

एयर अरेबिया : १२६९३ यात्रु/११२ उडान–अवतरण

आन्तरिकमा बुद्ध पहिलो

आन्तरिक उडानमा भने बुद्ध एयरले प्रतिस्पर्धी अन्य कम्पनीको तुलनामा निकै बढी यात्रु बोकेको छ । कार्यालयको आंकडा अनुसार सेप्टेम्बर महिनामा मात्र कुल ७ हजार ९५० वटा उडान–अवतरण भएका छन् । यी उडान–अवतरणबाट कुल ३ लाख ८७ हजा ५७९ जना यात्रुले सेवा दिएका छन् । यसमध्ये बुद्ध एक्लैले २ लाख २० हजार ८९६ जना यात्रु बोकेको छ ।

यति एयरलाइन्स दोस्रो स्थानमा छ । यो कम्पनीले ८४ हजार ८४२ जना यात्रु बोकेको छ । तेस्रो स्थानमा रहेको श्री एयरलाइन्सले ५९ हजार ९०९ जना यात्रु बोकेको कार्यालयको तथ्यांकले देखाएको छ ।

आन्तरिक उडानमा नेपाल एयरलाइन्सको उपस्थिति अझै कमजोर छ । नेवानिले एक महिनामा मात्र १५२ वटा उडान अवतरण गरेको छ । यी उडान–अवतरणबाट कुल १९०७ जना यात्रुले मात्र सेवा लिएको तथ्यांकले देखाएको छ । यो महिनामा आन्तरिक तर्फ दुई वटा भीभीआइपी फ्लाइट भएको समेत देखिएको छ ।

आन्तरिकमा धेरै यात्रु बोक्ने ५ एयरलाइन्स

बुद्ध एयर : २२०८९६ यात्रु/३८४२ उडान/अवतरण

यति एयरलाइन्स : ८४२७५ यात्रु/१२७० उडान/अवतरण

श्री एयरलाइन्स : ५९९०९ यात्रु/९२६ उडान/अवतरण

सौर्य एयरलाइन्स : १४१३७ यात्रु/३१० उडान/अवतरण

नेपाल एयरलाइन्स : १९०७ यात्रु/१५२ उडान/अवतरण

साताकाे चर्चित
सम्बन्धित