ब्याजदरमा राष्ट्रबैंकको हस्तक्षेपपछि सेयर बजार लयमा फर्कियो
ब्याजदरमा राष्ट्रबैंकको हस्तक्षेपपछि सेयर बजार लयमा फर्कियो
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

लगातार ओरालो लागेको बजार नेपाल राष्ट्रबैंकले ब्याजदर निर्धारणमा हस्तक्षेप गरेपछि बुधबार फर्किएको छ । मंगलबार साँझ राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर निर्धारणमा लगाम लगाएको थियो । राष्ट्रबैंकले अघिल्लो महिनाको भन्दा १० प्रतिशतले मात्रै ब्याजदर तलमाथि गर्न पाइने नियम लगाएपछि सेयर बजारका लगानीकर्ता केही आशावादी बनेका छन् ।

बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी ब्याज बढाएका थिए । जसका कारण मुद्दति निक्षेपको ब्याजदर साढे ११ प्रतिशत हाराहारी र बचत निक्षेपको ब्याजदर आठ प्रतिशत भन्दा पनि माथि पुर्‍याइएको थियो । राष्ट्रबैंकको हस्तक्षेपपछि ब्याजदर केही नियन्त्रण हुने र यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने आकलन लगानीकर्ताको छ ।

यही कारण बुधबार सेयर बजार ६०.५६ विन्दुले बढेको छ । नेप्से २.४१ प्रतिशतले बढेर २५७१.६६ मा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५६ प्रतिशतले बढेर ४८४.०५ विन्दुमा पुगेको छ । यस दिन कारोबार भएका सबै १३ वटै समूहको सूचकमा हरियो रङ पोतिएको छ । सबैभन्दा बढी उकालो लाग्नेमा वित्त समूह देखिएको छ । यो समूहको सूचक पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

बजार बढे पनि कारोबार रकमले भने साथ नदिएको देखिएको छ । बढ्दो बजारमा कारोबार रकममा गिरावट आएको छ । यस दिन जम्मा दुई अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको सेयर किनबेच भएको थियो । बढ्दो बजारमा कारोबार रकम खुम्चिएको अवस्थालाई बजारको वृद्धि टिकाउ नहुने अर्थमा व्याख्या गरिन्छ ।

यस दिन कारोबार भएका २१७ स्क्रिप्टमध्ये २०० वटाको भाउ बढेको छ भने १२ वटाको घटेको छ । पाँचवटाको क्लोजिङ मूल्य स्थिर रह्यो । पाँचवटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तिनमा सबै जलविद्युत् कम्पनी परेका छन् । यस दिन सबैभन्दा बढी गुमाउनेमा एनआइबिएल प्रगति फन्डका लगानीकर्ता परेका छन् । यो स्क्रिप्टको सेयर भाउ २.३४ प्रतिशतले खस्किएको छ ।

साताकाे चर्चित
सम्बन्धित