पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए
पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा स्थानीयका घर भत्किएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका ४ स्थित राजेन्द्र खत्रीको दुई तले घर र वडा ६ स्थित हरिसिंह धनाडीको दुई तले निर्माणाधीन पक्की घर भत्किएका छन् ।घर भत्किएपछि अहिले उनीहरूका परिवारका सदस्यहरूलाई आवासका लागि समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । यसैगरी जिल्लाको पुर्चौडी नगरपालिका ६ त्रिकालीमा एउटा घर पहिरोमा पुरिएको छ । पहिरोमा परी स्थानीय वसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । यसैगरी दशरथचन्द नगरपालिका ४ जर्गमा रहेको तारादत्त पाण्डेयको घर आंशिक पुरिएको छ भने सोही गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ ।जिल्लाको मेलौली नगरपालिका ३ को पुजारा गाउँका गौरसिंह भाटको पसलमाथिबाट आएको पहिरोले पसल पुरिँदा २० हजार रुपैयाँ बराबरका मालसामान नष्ट भएको स्थानीय नरीराम पार्कीले बताए । सोही ठाउँका दानीराम पार्कीको घरमाथिबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमती घाइते भएकी छन् ।यसअघि शिवनाथ ६ मा मंगलबार एउटा घर भत्किँदा तीन जनाको ज्यान गएको छ भने सुर्नया ५ मा घर भत्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास ५ ढुंगाडमा पहिरोले स्थानीयका पाँचवटा घर पुरिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित