वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा सरकारको नेतृत्व गर्ने
वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा सरकारको नेतृत्व गर्ने
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

मकवानपुर – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय वाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । तर पहिले एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।मुख्यमन्त्री शाक्यले आज बिहीवार प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ । यसअघि हिजो बुधवार बेलुका काठमाण्डौमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा कांग्रेसका इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । यस प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । गएको भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य अहिले अल्पमतमा हुनुहुन्छ । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो । प्रमुख सचिव खड्काका अनुसार, आजको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षहरूका लागि मतदान गर्न छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । वाग्मती प्रदेश सभामा अहिले एक सय नौ सभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनका लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कुल ५६ सांसद रहेकामा १३ सांसद एकीकृत समाजवादीमा गएसँगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेश सभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, तीन जना विवेकशील साझा, दुई जना नेमकिपा, दुई जना राप्रपा र एक जना जसपाका सांसद छन् ।

साताकाे चर्चित
सम्बन्धित