मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायांकन
मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायांकन
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायांकन गत ४  अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायांकन सकाएपछि टोली यहाँ आएको जनाइएको छ ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ ।
सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ । नेपालमा अमिताभ बच्चन भने आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायांकनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएको छ । चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहेको बताइएको छ ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारीदिए । चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन् । हिमाली भेगमा छायांकनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए ।

कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायांकन भइरहेको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायांकन गरिने जनाएको उनले बताए । जिल्लामा चलचित्र छायांकनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।यस चलचित्र छायांकनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित