भिसाको म्याद सकिँदा ३२ नेपाली अफगानिस्तानमै अड्किए
भिसाको म्याद सकिँदा ३२ नेपाली अफगानिस्तानमै अड्किए
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

तालिवानले अन्तिम समयमा रोक्दा अफगानिस्तानको काबुलमा अलपत्र परेका ३२ नेपाली स्वदेश फर्किनबाट वञ्चित भएका छन् । रोजगारीका लागि अवैधानिक तरिकाले अफगानिस्तान पुगेका ३४ नेपालीमध्ये दुई जना भने बुधबार काठमाडौं ओर्लिएका छन् । भिसाको म्याद सकिएको पाइएकाले अरूलाई विमानस्थलबाट फर्काइएको छ ।                                                      तालिवानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता उनीहरू काबुलमा अलपत्र थिए । ८ ठाउँमा छरिएर रहेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर एक ठाउँमा जम्मा पारेको थियो ।महिनौंदेखि उनीहरू सबै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय निकायलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आईडीजीको संरक्षणमा छन् । आईडीजीले नेपालबाट पनि सुरक्षार्की आपूर्ति गर्ने गरेको छ । दिल्लीस्थित दूतावासको आग्रहमा उनीहरूलाई आईडीजीले आवास तथा खाना दिइरहेको छ ।आईडीजीले नै उनीहरूलाई चार्टर्ड विमानबाट काठमाडौं पुर्‍याइदिने आश्वासन दिएको थियो । राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बिदामा काठमाडौं आउने भएपछि उनीहरूसँगै अलपत्रहरूलाई पनि ल्याउने तयारी गरिएको थियो । आईडीजीले चार्टर गरेको इरानको महान एयर बुधबार नै काबुलबाट काठमाडौं पुगेको थियो । त्यसमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना थिए ।दिल्लीस्थित नेपाली नियोगका निमित्त प्रमुख रामप्रसाद सुवेदीले महिनौंदेखिको प्रयास अन्तिम समयमा सफल हुन नसकेको बताए । ‘विमानस्थलमा रहेका तालिवानी अथोरिटीले भिसाको म्याद सकिएकालाई रोक्यो,’ उनले भने, ‘उहाँहरूका लागि फेरि प्रयास थालिएको छ । आईडीजीमार्फत नै हामी निरन्तर सम्पर्कमा छौं ।’जरिवाना तिरेर भिसाको प्रक्रिया पूरा गरिएपछि अर्को कुनै उडानबाट नेपाल ल्याइने तयारी रहेको उनले जानकारी दिए । आईडीजीले पनि अलपत्र परेकाहरूलाई नेपाल पुर्‍याउन प्रतिबद्ध रहेको दूतावासका अधिकारीलाई बताएका छन् । नेपाल सरकारले उनीहरूलाई नेपाल ल्याउन लाग्ने खर्चको सोधभर्ना गर्ने प्रतिबद्धता आईडीजीलाई दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित