हिटलर : जो ४२ पटक मार्ने प्रयासबाट बाँचेका थिए
हिटलर : जो ४२ पटक मार्ने प्रयासबाट बाँचेका थिए
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

हिटलर, जसकाे नाम नसुन्ने सायदै हाेलान्। तर याे कुरा फेरि सायदैलाइ थाहा हाेला कि क्रुरता र निरंकुशताको कारण कुख्यात जर्मनीका तानाशाह एडोल्फ हिटलरलाई चालिस पटक मार्ने प्रयास गरिएको थियो भन्ने। उनकाे क्ररताबाट आक्रान्त विश्व उनकाे मृत्यु चाहन्थ्याे। त्यही अनुरुप उनलाइ ४२ पटक भन्दा बढी मार्ने प्रयास भएकाे थियाे तर उनी हरेक पटक बाँच्न सफल भएका थिए।

एडोल्फ हिटलरको जन्म सन् १८८९ अप्रिल २० को दिन हालको अस्ट्रिया नाम गरेको देशमा भएको थियो । जुन उनको जन्म भएको स्थान तत्कालिन जर्मन साम्राज्य नजिकै पर्दथ्यो । हिटलर सानो छँदा उनको परिवार पटक पटक बसाईं सरेको थियो । केही समयपछि हिटलरका बाबु अलोईसको अचानक मृत्यु भयो । आमाले दु:ख गरेर कमाएको पैसाले जसाेतसाे घर चलाउँदै हिटलर भिएनामा चित्रकला पढ्न थाले ।

आमाको कमाईबाट जसो तसो पढाइ चलिरहेको बेलामा हिटलर माथि अर्को बज्रपात आइलाग्यो । उनको आमाको स्तन क्यान्सरबाट मृत्यु भयो । त्यसपछि हिटलर अनाथ आश्रममा बस्न बाध्य भए। आफूले बनाएको चित्रकला बाटो बाटोमा बेचेर थोरै भए पनि पैसा कमाउने गर्न थाले ।

सन् १९१४ मा पहिलो विश्वयुद्ध हुँदा हिटलर जर्मनीको म्युनिखमा थिए । जर्मनीको तर्फबाट लड्नको लागि बाभारिएन सेनामा उनी भर्ति भए । विश्वयुद्धकै क्रममा दुश्मनले राखेको बम विस्फोट हुँदा उनको तिघ्रामा चोट लाग्यो र दुई महिनाको लागि अस्पतालमा भर्ना भए । त्यस्तै मस्टार्ड ग्याँस आक्रमणमा परेको कारण उनी केही समयको लागि अन्धा भएका थिए पनि भनिन्छ ।

पहिलो विश्वयुद्धमा जर्मनीको पराजय भयो । उनी लगायत तत्कालिन जर्मन राष्ट्रवादीहरू जर्मनी युद्ध मैदानमा हानेको होईन ढाडमा छुरा घोप्नेहरूको कारण हानेको हो भनेर व्याख्या गर्न थाले । जसलाई जर्मन भाषामा दोल्स्तोलिगेंजे भनिन्छ । यहुदी धर्मावलम्बी, कम्युनिस्ट र युद्ध विराम चाहनेहरूलाई जर्मनीको ढाडमा छुरा घोप्नेको सूचीमा राखे र बदला लिनुपर्ने आवाज उठाउन थाले ।

पहिलो विश्वयुद्धपछि हिटलरले राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी नाम गरको पार्टीको सदस्यता लिए । नामै नचलेको पार्टीको सदस्यता लिए पनि हिटलरको बेजोडको भाषण गर्ने कला, यहुदी र कम्युनिस्ट बिरोधी विचारको कारण चाँडै पार्टीको अध्यक्ष बन्न भ्याए उनी ।

सन् १९२३ मा बाभारियाको सरकारलाई कू गरेर हटाउने प्रयास गरेका थिए तर असफल भएपछी पक्राउ परे । उनलाई ५ बर्षको निम्ति जेल सजाय भएपनि करिव डेढ बर्षपछि रिहा भए । एकपछि अर्को गर्दै जर्मनीको चुनावमा विजय हात पारेपछि हिटलर तथा उनका समर्थकहरूद्वारा विपक्षीको निर्मम दमन गर्न थालियो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आफ्नो प्रभाव जमेपछि जर्मनीको निरंकुश राष्ट्रप्रमुख बन्न सफल भए ।

निरंकुश शासक हिटलरलाई मार्न गरिएको ४२ वटा प्रयासहरु मध्ये १२ वटा प्रमुख घटना यहाँ प्रस्तुत गरिएकाे छ ।

सन् १९३२ मा बर्लिनको एउटा होटेलमा हिट्लर तथा उनका पार्टीका पदाधिकारीहरू खाना खाँदै थिए । अचानक सबैलाई वाकवाकी लाग्न थाल्यो । खाना पुरै नसकिँदै सबै जना विरामी परे । हिटलरलाई थाहा भईहाल्यो खानामा बिष मिसाईएको छ भनेर । तर कसैलाई गिरफ्तार भने गरिएन । धन्न सबै बाँचे ।

सन् १९३२ कै फेब्रुअरीमा लुड्विग अस्नेरले फ्रान्सबाट हिटलरलाई एउटा पत्र पठाए । पत्र हिटलरको हातमा पर्नु अगावै हिटलरको शुभ चिन्तकले हिटलरलाई खबर गरे – ” खबरदार । त्यो पत्र नखोल्नु । त्यस पत्रमा धुलो पारिएको बिष राखिएको छ । पढ्न आँखा नजिकै लाने बितिक्कै मरिन्छ ।” त्यसपछि त्यो पत्रलाई हिटलरसम्म पुग्नबाट रोकियो र लुड्विललाई गिरफ्तार गरियो ।

सन् १९३४ जर्मन स्वतन्त्र सेनाका सदस्य बेप्पो रोमेर नाम गरेका व्यक्तिले हिटलरले गरेको राजनीतिक दमनको विरुद्धमा उनलाई मार्ने सोंच बनाए । त्यसको निम्ति एक व्यक्तिको सहयोग लिन पुगे । जोसँग सहयोग मागेका थिए ति व्यक्ति जर्मनीको गुप्तचर रहेछन् । हिटलरलाई मार्ने योजना बनाउनु अघि नै ती पक्राउ परे ।

सन् १९३४ मै दक्षिणपन्थी एक राजनीतिक दलका अध्यक्षले १६० जना आफ्ना कार्यकर्ताहरूलाई जर्मनीको सेनामा प्रवेश गराए । त्यसपछि हिटलर कति खेर कहाँ जान्छन, कुन बेला एक्लै हुन्छन भनेर सूचना संकलन गर्न थाल्यो । एक्लो भएको बेला हत्या गर्ने प्रयास अन्तिम चरणमा पुगेको बेला गुप्तचरले यसको पत्तो पायो । हिटलरको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा डा. हेलम्युट म्य्लिसलाई पक्राउ गरियो ।

सन् १९३५ मा जर्मनीको परराष्ट्र मन्त्रालयका केही कर्मंचारीहरू मिलेर हिटलरको हत्या गर्ने योजना बनाएका थिए । हत्याको योजना बन्दै गर्दा एक अर्कालाई पठाईएको पत्र फेला परेपछि हत्याको पर्दाफास भयो र मार्विज़का समूहलाई नै गिरफ्तार गरियो ।

सन् १९३५ मै पल जोसेफ स्ट्रुमेरले विश्व विद्यालयका प्राध्यापक, सेनाका अधिकारी, सरकारी कर्मचारी र व्यवसायी सम्मिलित एउटा दस्ता बनाएर हिटलरको हत्या गर्ने र जर्मनीको शासन सत्ता हत्याउने प्रयास गरेको थियो । तर उनी पनि पक्राउ परे ।

सन् १९३६ स्ट्रासरेसिस्ट ब्ल्याक फ्रन्टका यहुदी सदस्य हेल्मुट हिर्स्चले हिटलरलाई मार्ने योजना बनाए । उनले एउटा सुटकेसमा विस्फोटक पदार्थ प्याक गरे र नाजी पार्टीको कार्यलयमा राख्न जाँदै थिए । बीचमै उनको षड्यन्त्रको पर्दाफास भयो । त्यसपछि पक्राउ परे र उनको घाँटी छिनालेर मारियो ।

सन् १९३८ स्विस विद्यार्थी मौरिस बाभौडले हिटलरलाई मार्ने योजना बनाए । पत्रकारको भेषमा हिटलरको नजिक जाने र हिटलरलाई गोली हानेर मार्ने योजना थियो । म्युनिखको एक भव्य जुलुसमा हिंडिरहेका हिटलरको नजिक मात्र के पुगेका थिए, हिटलर वरपर जम्मा भएको भीडले गर्दा मौरिसले राम्रोसंग हिटलरलाई देख्न सकेनन । त्यसपछि हिटलरको हत्या गर्ने आफ्नो योजना तत्काललाई रोके । तर पनि उपयुक्त समयको लागि हिटलरको पछि पछि हिँडिराखे । यो कुरा पछि जर्मन जासुसले पत्ता लगाएपछि उनलाई पक्राउ गरियो र मारियो ।

सन् १९३९ मा पोल्याण्डलाई जितेको खुसियालीमा राजधानी वार्सामा बिजय र्याली निस्किनेवाला थियो । त्यसमा हिटलर पनि सहभागी हुनेवालामा थिए । पोल्याण्डका सेनाका अधिकारीहरू मिलेर हिटलरको र्याली हिँड्ने ठाउँको सडक मुनि ५०० किलो टिएनटि प्याक गरेर राखेका थिए । तर धन्न हिटलरको भाग्य । अन्तिम समयमा आएर बिजय र्याली त्यो बाटो नभएर अन्तैबाट मोडियो र हिटलर बच्न सफल भए ।

सन् १९३९ मै हिटलरले जर्मनीको एक सभाकक्षमा भाषण गर्ने मिति र स्थान पक्का भयो । हिटलर भाषणको निम्ति आउने थाहा पाए लगत्तै जर्मनीका एक सिकर्मी ग्रेग एल्सरले सभाकक्षमा टाईम बम राखे । हिटलरले भाषण गरिरहेको समयमै पड्काउने र हिटलरलाई मार्ने उनको योजना साकार हुनेमा ढुक्क थिए । तर हिटलरले आफ्नो भाषण छोट्याए । र फटाफट कार्यक्रम स्थलबाट बाहिर निस्किहाले । उनी निस्किए लगत्तै बम पड्कियो । आठ जनाको मृत्यु र दर्जनौं घाईते भए तर हिटलर समयमै निस्किएको कारण बाँचे । हत्याको षड्यन्त्र गरेका सिकर्मीलाई पक्राउ गरेर मारियो ।

सन् १९४३ मा बर्लिनको एक स्थानमा सोभियत युनियनबाट खोसिएका हतियारहरुको निरीक्षण गर्ने वाला थिए । गेर्सडोर्फ़ नाम गरेका एक विज्ञले हतियार सम्बन्धि जानकारी हिटलरलाई गराउनुपर्ने थियो । तर त्यहाँ योजना अर्कै बन्यो । जर्मनीलाई हिटलरको पन्जाबाट जोगाउन हिटलरको हत्या गर्नुपर्ने निर्णय भयो । हिटलरको हत्या गर्ने र सत्ता हत्याउने योजना बन्यो । जसै हिटलर हतियार निरीक्षण गर्ने हलमा प्रवेश गरे गेर्स्डोर्फ़ले आफ्नो कोटको खल्तीमा दुई वटा बम राखेर र १० मिनेटपछि पड्किने गरी सेट गरे । पड्किने बेला हिटलरलाई अँगालो मारेर आत्मघाती विस्फोट गर्ने योजना थियो तर योजना भनेजसरि अघि बढेन । हिट्लर १० मिनेट भन्दा अगाडि नै संग्राहलय घुमेर फर्किहाले । योजना विफल भयो । गेर्स्डोर्फाेले कोटको खल्तीको बम भने हतार हतार ट्वाईलेटमा लुकेर डिफ्युज गरे ।

सन् १९४३ मा हिटलरको सेनाको लागि जाडो महिनाको कपडाको प्रदर्शन हुने वाला थियो । त्यसलाई हेर्न हिटलर स्वयम् आउने वाला थिए। बोस्चे नाम गरेका सैनिक अधिकारी जो अग्ला र निलो आँखा भएका थिए । उनलाई जाडो महिनाको कपडा कस्तो हुन्छ भनेर देखाउनको लागि लगाएर हिटलरको अगाडी राखिने वाला थियो । बोस्चेले त्यो मौका हातबाट जान नदिने निर्णय गरे । आफ्नो कपडामा बम लुकाएर राखे । हिटलरलाई कपडा देखाउने नाममा अगाडि जाने र आत्मघाती बम विस्फोट गरेर आफू पनि मर्ने र हिटलरलाई पनि मार्ने योजना बनाए । तर बेलायती र फ्रान्सेली सेनाले हिटलरको सेनाको लागि नयाँ कपडा बोकेको रेललाई ध्वस्त गरेपछि कपडाको प्रदर्शनी स्थगित गरियो । हिटलर फेरि पनि बाँच्न सफल भए।

यी त भए हिटलरको हत्या गर्न बनाईएका मुख्य मुख्य घटना । हिटलरलाई मार्न पटक पटक विष प्रयोग गरियो, पेस्तोलले निधारमा गोली हान्ने प्रयास गरियो। धेरै पटक बम पड्काएर मार्ने प्रयास गरियो तर पटक पटक गरेर उनी बाँच्न सफल भए । पटक पटकको हत्या प्रयासबाट हिटलर बाँच्न सफल भए तर सन् १९४५ अप्रिल ३० को दिन अर्कै भयो । अमेरिकन सेनाले जर्मनीको अरु सबै भाग कब्जा गरिसकेका थिए । रसियन सेनाले हिटलर रहेको बर्लिन शहर वरपर आक्रमण गरेर जित्दै अघि बढिरहेका थिए ।

जर्मनी दोस्रो युद्धमा पराजय उन्मुख हुँदैछ भन्ने कुरा हिटलरलाई थाहा भइसकेको थियो । हिटलरको सेनामा चौतर्फी निराशा छाएको थियो । रसियन सेना हिटलर बसेको बङ्कर भन्दा ५०० मिटर टाढा भीषण युद्ध गर्दै थिए । बंकर बाहिर भीषण युद्ध भइरहँदा अप्रिल ३० को दिन हिटलर आफू लुकिबसेको बङ्करमा आफ्नी प्रेमिका इभा ब्रुनसँग विवाह गरे । बंकरभित्रै बिहेको भोज पनि दिए र भोजपछि सबैसँग विदा हुँदै इभासँग आफ्नो पढ्ने कोठामा गए । भर्खर बिहे गरेको पत्नीलाई साईनाईड क्याप्सुल खुवाए र आफ्नो कन्चटमा पेस्तोलले हानेर आत्महत्या गरे।

साताकाे चर्चित
सम्बन्धित