हिमाली क्षेत्रमा ट्रेकिङ गएर हराएका १७ जनामध्ये ११ पदयात्रीको लाश भेटियो
हिमाली क्षेत्रमा ट्रेकिङ गएर हराएका १७ जनामध्ये ११ पदयात्रीको लाश भेटियो
    • Bell Sanchar

    • ६ कार्तिक २०७८, शनिबार

काठमाडौं। हिमाली क्षेत्रमा मौसमको खराबी र हिमपातका कारण बेपत्ता भएका १७ जना पदयात्रीमध्ये ११ जना पदयात्रीको शव भेटिएको छ । १७ हजार फिट उचाइमा रहेको भारतको उत्तराखण्ड राज्यको लमखागा पासमा भारतीय वायुसेनाले यी शव फेला पारेको हो । यहाँ पर्यटक, भरिया र गाइड समेत १७ जना ट्रेकरहरु १८ अक्टोबरका दिन बाटो बिराएर हराएका थिए । यीमध्ये ११ जनाको शव लमखागा पास जाने बाटोमा भेटिएको हो ।

 

यी पर्वतारोहीहरुले १४ अक्टोबरमा उत्तराखण्डको हर्षिलबाट ट्रेकिङ सुरु गरेका थिए । उनीहरु हिमाचल प्रदेशको छितकुल जाँदै थिए । तर, १७ देखि १९ अक्टोबरसम्म मौसम खराब भएपछि उनीहरु लमखागा पास नजिकै बाटो बिराएर हराए । लमखागा पास उत्तराखण्डको हर्षिल जिल्ला र हिमाचल प्रदेशको किन्नौर जिल्लालाई जोड्ने अत्यन्तै दुर्गम पास हो ।एयरफोर्सले बुधबार सर्च अपरेशनको लागि २ हेलिकप्टर तैनाथ गरेको थियो । भोलिपल्ट बिहीबार उद्धार टोलीले १५ हजार ७ सय फिटको उचाइमा ४ शव फेला पारेको थियो । १६ हजार ८ सय फिट उचाइबाट एक व्यक्तिलाई जीवितै उद्धार गरियो । उनको हालत निकै खराब थियो र उनी चल्न पनि सकिरहेका थिएनन् । शुक्रबार बिहान पनि खराब मौसम र तीब्र हावाका बीच उद्धार टोलीले एक जनाको जीवितै उद्धार गर्यो । थप ५ शव फेला पारियो । उद्धार टोलीले पछिल्लो समय थप २ शव फेला पारेको छ ।यो दल मोरी सांकरीको एक ट्रेकिङ एजेन्सीको माध्यमबाट हर्षिलबाट छितकुलको लागि हिँडेको थियो । यो दलले उत्तराखण्डमा उत्तरकाशी जिल्लाको वन विभागबाट १३ देखि २१ अक्टोबरसम्म लमखागा पासमा ट्रेकिङको लागि इनरलाइन अनुमति लिएको थियो । तर, १७ देखि १९ अक्टोबरसम्म मौसम खराब भएपछि दलले बाटो बिराएको थियो । ट्रेकिङ दलसँग सम्पर्क विच्छेद भएको र टोली छितकुल नपुगेपछि ट्रेकिङ एजेन्सीले उद्धारको प्रयास सुरु गरेर उत्तराखण्ड र हिमाचल सरकारसँग सम्पर्क गरेको थियो ।किन्नौर जिल्ला प्रशासनले दल बेपत्ता भएको सूचना बुधबार नै पाएको थियो । त्यसपछि जिल्ला प्रशासनले क्युआरटी टिम, पुलिस र वन विभागको टोलीलाई उद्धारको लागि छितकुल कंडेतर्फ पठाएको थियो । किन्नौरका डिसी आबिद हुसेन सादिकका अनुसार बेपत्ता भएका दलका केही सदस्य भेटिएका छन् । अन्यको खोजी भइरहेको छ । जीवितै उद्धार गरिएका २ जनामध्ये एकको अवस्था गम्भीर छ ।

साताकाे चर्चित
सम्बन्धित