अमेरिकाले एयरस्ट्राइकमा अल–कायदाको प्रमुख नेतालाई मारिदियो
अमेरिकाले एयरस्ट्राइकमा अल–कायदाको प्रमुख नेतालाई मारिदियो
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौं। अमेरिकी सेनाले सिरियामा गरेको एयरस्ट्राइकमा अल कायदाका प्रमुख नेता अब्दुल हामिद अल मतर मारिएका छन् । शुक्रबार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता मेजर जोन रिग्सबीले यसको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । उनले अल कायदाका यी ठूला नेता मारिएपछि विश्वभरमा आक्रमणको षड्यन्त्र गर्ने र तिनीहरुलाई कार्यान्वयन गर्ने अल कायदाको क्षमता केही कम हुने बताए ।

उनले भने ‘अल कायदा लामो समयदेखि हाम्रा नागरिकहरु, हाम्रा मित्र देशहरु र निर्दोष मानिसहरुलाई निशाना बनाउँदै आएको छ ।’ रिग्सबीका अनुसार यो एयरस्ट्राइक एमक्यु–९ एयरक्राफ्टबाट गरिएको थियो । यो एयरस्ट्राइकमा कुनै नागरिकलाई नोक्सानी भएको छैन । अल कायदा सिरियालाई एक सुरक्षित स्थानको रुपमा प्रयोग गर्छ र यहाँबाट विश्वभरी आतंकवादी आक्रमण गर्ने गर्छ ।

२ दिन पहिले दक्षिणी सिरियामा अमेरिकी आउटपोस्टमा आक्रमण भएको थियो । रिग्सबीले अमेरिकाले यही आक्रमणको जवाफमा एयरस्ट्राइक गरेको हो वा होइन भन्ने बताएनन् । उनले सिरियाको कुन क्षेत्रमा यो एयरस्ट्राइक गरिएको हो भन्ने पनि बताएनन् । यसअघि सेप्टेम्बरमा पनि अमेरिकाले विद्रोहीहरुको नियन्त्रणमा रहेको सिरियाको उत्तर पश्चिमी क्षेत्रमा एयरस्ट्राइक गरेको थियो । यसमा अल कायदाका बरिष्ठ नेता सलीम अबु अहमद मारिएका थिए ।यो क्षेत्र सिरियाका हतियारधारी विद्रोही गुटको नियन्त्रणमा छ । यी गुटहरुमध्ये एउटा अल कायदाको साथी समूह हयात ताहिर अल शम पनि हो । सिरियामा लामो समयदेखि युद्ध चलिरहेको छ । यहाँ विदेशी सेनाहरु, आतंकवादीहरु, अल कायदा, इस्लामिक स्टेटसँग सम्बन्धित समूहहरुले आफ्नो बेस बनाएका छन् । २०११ देखि अहिलेसम्म युद्धमा करिब ५ लाख जना मारिइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित