संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?
संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ । सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को न्यायाधीशलाई असहयोग गर्ने परिपाटी बढ्दै जाँदा सिंगो न्याय क्षेत्र बदनाम हुन पुगेको भन्दै सर्वोच्चका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘सर्वोच्चमा न्यायधीशहरूबीचमा नै एकले अर्कालाई समाप्त पार्ने खेल बढ्न थालेको छ, यसले न्याय क्षेत्रमा गम्भीर संकट आउन सक्ने भय बढेको छ,’ सर्वोच्चका एक अधिकारीले राजधानीसँग भने ।

उता सर्वोच्चको मुख्य कमान्डरका रूपका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशशेर जबरा शृंखलाबद्ध रूपमा विवादमा तानिँदै आएपछि न्यायालयप्रतिको विश्वासमा नै कमी आउन थालेको ती अधिकारीहरूको भनाइ छ । उनले न्यायालय प्रमुखको हैसियतमा न्यायालयलाई सन्तुलन हिसाबमा चलाउनुपर्नेमा निरन्तर कार्यपालिका र संवैधानिक आयोगमा भागबन्डा माग्न थालेपछि विवादमा तानिएका हुन् ।

यसो त यसअघि प्रतिनिधिसभाको दोस्रोपटक विघटनको मुद्दामा परमादेशको आदेश दिने अन्य वरिष्ठ न्यायाधीशहरूले पनि सरकारका विभिन्न निकायमा आफू निकटका व्यक्तिलाई नियुक्ति दिलाउन गोप्य रूपमा लबिङ गरिरहेको सरकार निकट स्रोतले जनाएको छ । प्रधानन्यायधीश माथि मात्रै होइन, न्यायालयमा गुटबन्दी गर्ने र विभिन्न साँठगाँठ गर्ने अन्य केही वरिष्ठ न्यायधीशहरू माथिसमेत छानबिन र कारबाही गर्नुपर्ने माग उठेको छ ।

उता न्यायलयमा परेका गम्भीर संवैधानिक बहसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको आलोचना हुनेक्रम पनि बढेको छ ।

न्यायालयको नेतृत्व गर्ने व्यक्ति मन्त्रिपरिषद्मा भागबन्डा र संवैधानिक निकायको भागबन्डाले प्रधानन्यायाधीश राणा विवादित बन्न पुगेका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाल मन्त्री नियुक्ति भएपछि चर्को आलोचना भयो । प्रधानन्यायाधीश राणा संकटमा पर्ने देखिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हमालले ४० घण्टा बित्न नपाउँदै राजीनामा दिनुप-यो ।

मन्त्रिपरिषद्को भागबन्डाको विषय सेलाउन नपाउँदै सर्वोच्चमा पेसी सूची तोक्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशबीच गम्भीर बहस सुरु भएको छ । अधिकांश न्यायाधीश स्वचालित पेसी तोक्नुपर्ने अडानमा छन् । तर, प्रधानन्यायाधीशले अहिले तत्काल स्वचालित पेसी तोक्ने विषयलाई पछि धकेल्दै लगेका छन् । स्वचालित पेसी सञ्चालनको विषयलाई लिएर अदालतभित्र प्रधानन्यायाधीश राणासँग वरिष्ठ न्यायाधीशहरूको असन्तुष्टि छ ।

न्यायालयको इतिहासमा पहिलोपटक न्यायालयको गरिमामा आँच आएको भन्दै पूर्वन्यायाधीश समाजको छैटौं साधारण सभाको सन्दर्भमा शुक्रबार ‘न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण’ पत्र जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिन आग्रह गरेका छन् ।

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ तथा सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष भएको समितिले स्वचालित पेसी सञ्चालनका गर्न सुझाव दिएको थियो ।

तर, प्रधानन्यायाधीश जबराले स्वचालित पेसी तत्काल गर्न नसक्ने भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाए । स्वचालित पेसी सञ्चालनको विषयमा जबरा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिन पेसी सूचीका विषयमा तत्काल हेरफेर हुन नसक्ने जवाफ दिएका थिए । प्रधानन्यायाधीश जबराले भदौ १६ बाट गोलाप्रथा लागू गर्ने घोषणा गरेका थिए, त्यस्तै फेरि म्याद बढाएर असोज मसान्तबाट सुरु गर्ने भनेका थिए ।

तर, अहिलेसम्म कार्यान्वयन गर्नुको सट्टा यस्तो व्यवस्थाले प्रधानन्यायाधीश र मुख्य न्यायाधीशको अधिकार संकुचित हुने भन्दै सार्वजनिक असन्तुष्टिसमेत पोखेका थिए । प्रधानन्यायाधीश राणा आफ्नो प्रतिबद्धतामा अडिग हुन नसक्दा अहिले सर्वोच्च लगायत देशभरका अदालतमा पेसी सूची पुरानै हिसाबमा चलिरहेको छ ।

त्यसो त न्यायालयमा भ्रष्टाचारको सुरुआत नै पेसी सूची प्रकाशन गर्दाको चलखेलबाट हुने सर्वोच्चभित्रैका प्रतिवेदनले प्रश्न उठाइसकेको छ । कुन मुद्दा कुन न्यायाधीशले हेर्ने तजबिज प्रधानन्यायाधीशलाई हुँदा ‘बेन्च सपिङ’ हुने भन्दै विगतमा न्यायाधीशहरूले सार्वजनिक रूपमै प्रश्न उठाइसकेका छन् । सर्वोच्चबाटै गठित दुईवटा प्रतिवेदनले तत्काल स्वचालित पेसी सूची व्यवस्थापन गर्न नसक्ने भएमा गोलाप्रथाबाट पनि पेसी तोक्न सक्ने विकल्प पनि दिएको छ । सो विषयमा समेत प्रधानन्यायाधीश राणाले तत्परता देखाउन सकेनन् ।

एसिया क्षेत्रका प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशहरूको सन् २०१३ मा टर्कीको इस्तानबुलमा भएको सम्मेलनले ‘इस्तानबुल डिक्लेयरेसन अन ट्रान्सपरेन्सी इन द जुडिसियल प्रोसेस’ जारी गरेको थियो ।

सो सम्मेलनले सूचना प्रविधिमा आधारित वैज्ञानिक पद्धतिबाट इजलास गठन र पेसी व्यवस्थापन गर्दा न्यायपालिकाको पारदर्शिता र विश्वसनीयता बढाउने मान्यता प्रकट गरेको थियो । नेपालमा पनि अनुसरण गर्न तीन वर्षअघि बनेको सर्वोच्च अदालतको समितिले पनि स्वीकार गरेको छ । पेसी व्यवस्थापन मात्रै हल भएमा मात्रै न्यायालयभित्र हुने विकृति आधाभन्दा बढी हल हुने सुझाव सर्वोच्चकै प्रतिवेदनले दिएको छ ।

न्यायालयको इतिहासमा पहिलोपटक न्यायालयको गरिमामा आँच आएको भन्दै पूर्वन्यायाधीश समाजको छैटौं साधारण सभाको सन्दर्भमा शुक्रबार ‘न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण’ पत्र जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिन आग्रह गरेका छन् ।

‘मन्त्रिपरिषद् विस्तारमा भागबन्डाको सौदाबाजीको समाचारसमेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु वाञ्छनीय र अनिवार्य देखिएको छ,’ समाजका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीशले निकास नदिए प्रतिनिधिसभाको क्षेत्राधिकार सम्झाउँदै महाअभियोग लगाएर छानबिनको दायरमा ल्याउन सकिने सुझावसमेत पूर्वन्यायाधीश फोरमले दिएका छन् । ‘न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि हामी अनुरोध गर्दछौं । न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूको नै हो भनी हामी पूर्वन्यायाधीशहरू स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

पत्नी हत्याको अभियोगमा उच्च अदालतबाट जन्मकैदको सजाय भोगिरहेका रञ्जनप्रसाद कोइरालाको १२ वर्ष कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलामा न्यायिक विचलन देखिएको पूर्वन्यायाधीशको ठहर छ । जबराले आफूसहितको इजलासले अभियुक्त कोइरालालाई आठ वर्ष ६ महिनामै जेलमुक्त गराएका थिए । जुन फैसलाले न्यायिक स्वच्छतामा प्रश्न उठाएको न्यायाधीश फोरमको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित