कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय
कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो ।

‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ, प्रदेश सरकारबारे सबैको साझा बुझाइ छ । यो सरकारले राम्रो काम गरेको छ, प्रदेशमा स्थिायत्व कायम गर्दै पाँचै वर्ष यही सरकारलाई नै निरन्तरता दिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बेल सन्चार सङग भने ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो ।

फ्लोर क्रस गरी मन्त्री बनेका तीन जना एमाले सांसद पदमुक्त भएपछि ६ महीनामा र उनीहरू पदमुक्त नभए साउन १ गते सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्ने सहमति भएको थियो ।

फ्लोर क्रसपछि वैशाख ५ गते मन्त्री भएका सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले सांसदबाट पदमुक्त गर्‍यो । तीनैजना वैशाख १५ गते गैरसांसदका रूपमा पुनः नियुक्त भए । उनीहरूको समयअवधि यही कात्तिक १५ गते सकिँदैछ ।

त्यसलगत्तै कांग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश सरकारको नेतृत्व गर्ने गृहकार्यमा जुटेका छन् ।

मुख्यमन्त्री शाहीकै प्रस्तावमा विस्तारित बैठकले हालको सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने गरी गठबन्धन दलबीच सहमति जुटाउन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको हो ।

केन्द्रमा गठबन्धन दलबीच छुट्टै सहमति बनेर निर्देशन आए मात्रै सत्ताको नेतृत्व हस्तान्तरण गर्न सकिने माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । ‘अहिले गठबन्धनको सरकार छ, कर्णालीमा सहमति हुँदा केन्द्रमा गठबन्धन थिएन । गठबन्धन दलबीच केन्द्रमा जे निर्णय हुन्छ त्यसलाई कार्यान्वयन गर्छौं,’ उनले भने ।

कुन-कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्नेबारे शीर्ष नेताहरू बिच छलफल भै रहेको र छिट्टै टुङ्गनिे इन्चार्ज बस्नेतले बताए ।

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ : जीवन शाही

मुख्यमन्त्री बन्ने पर्खाइमा रहेका कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले भने वैशाख २ को लिखित समझदारी विपरीत माओवादी गए कांग्रेसले साथ नदिने बताए ।

केन्द्रको निर्देशनले कर्णालीमा भएको सम्झौतालाई फरक नपार्ने उनको तर्क छ । ‘हिजो केन्द्रको निर्देशनमा हामीले समझदारी गरेको होइन । वैशाख २ गते मुख्यमन्त्रीज्यू, प्रकाश ज्वाला र मबीच प्रदेशस्तरमै सहमति भएको थियो,’ नेता शाहीले बेल सन्चार सङग  भने, ‘अहिले आएर केन्द्रले के भन्छ भनेर हुन्छ ? केन्द्रसँग हाम्रो सरोकारको विषय छैन ।’

कर्णालीमा भएको सहमति केन्द्रीय गठबन्धनको जग भएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गरिनुपर्ने नेता शाहीले बताए । ‘कर्णालीमा हामीले गरेको समझदारीले केन्द्रमा गठबन्धनको वातावरण बनेको हो, त्यसैले हामीबीचको लिखित समझदारी अक्षरशः कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

उनले अघि थपे, ‘कात्तिक १५ गते महिना पुग्छ, अब केन्द्रले जे गरे पनि हामीलाई छुँदैन । लिखित सहमतिमा बेइमानी गर्नुहुन्छ भने हामी सोच्न बाध्य हुन्छौँ, त्यसपछि प्रदेशमा अर्कै खेल शुरु हुन्छ,’ नेता शाहीले भने ।

कात्तिक १५ भित्र तीन मन्त्री बिदा हुँदै

कात्तिक १५ गतेभित्र कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीहरुले बिदा लिने भएका छन् ।

नेकपा -एकीकृत समाजवादी)का तर्फबाट स्वतन्त्र हैसियतमा मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही यही कात्तिक १५ गते अगावै बिदा हुँने भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार संंसद सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछन् । तीनै जनाले गत वैशाख ३ गते फलोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) मा रहेका उनिहरुलाई पार्टीले कारवाही गरेपछि १५ वैशाखमा स्वतन्त्र हैसियतमा मन्त्री बनाइएको थियो । उनीहरुको पदवधि आगामी कात्तिक १५ गते सकिँदै छ ।

तीन जना मन्त्रीको बिदाइसँगै मुख्यमन्त्री शाहीले नयाँ मन्त्रीको नाम चयन गर्ने अन्तिम तयारी गरेका छन् । मुख्यमन्त्रीमा शाहीकै निरन्तरता भए कर्णालीमा कम्तीमा पाँच मन्त्री थपिने मुख्यमन्त्री निकट श्रोतको दाबी छ ।

नेकपा समाजवादीमा लागेका सांसदहरु पदम रोकाय, चन्ऽबहादुर शाही मन्त्री पदका प्रमुख दाबेदार रहेका छन् भने सांसद देवी ओली पनि मन्त्री बन्ने लाइनमा छिन् ।
‘अब कम्तिमा पाँच जना नयाँ मन्त्री थपिने छन्, काँग्रेसका तीन, माओवादीका मुख्यमन्त्रीसहित तीन र समाजवादीका दुई जनालाई मन्त्री बनाउने बारे छलफल भइरहेको,’ मुख्यमन्त्री निटक स्रोत भन्छ ।

यस्तो छ प्रदेश सभामा अंक गणित

३५ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद छन् ।
हाल माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महेन्ऽबहादुर शाहीको नेतृत्वमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।

 

साताकाे चर्चित
सम्बन्धित