तीन जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’
तीन जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’
    • बेल संचार

    • ८ कार्तिक २०७८, सोमबार

काठमाडाैं । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन्। पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले दुई जिल्ला प्रमुख र सशस्त्र प्रहरी मुख्यालयले एक जिल्ला प्रमुखमाथि ‘कारबाही’ गरेको हो।

प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरूप प्रदेश दुईका दुई जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरेको छ। धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

यी दुवै एसपीको काज सरुवा गरिएको हो।प्रहरी प्रधान कर्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाउने भएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत छन्।यस्तै, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर प्रदेश ३ गढीमाई बाहिनीमा कार्यरत एसपी भरत खनियाँलाई गणको जिम्मेवारी सुम्पेको छ।प्रहरी प्रधान कार्यालयले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक सरकारी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाई बजार घुमाएको घटनामा धनुषा प्रहरी प्रमुख एसपी रानाभाटको काज सरुवा गरेको हो।

 

जनमत पार्टीका कार्यकर्ताले निर्वस्त्र बजार घुमाउँदा पनि ‘मुकदर्शक’ बनेको भन्दै सुरक्षा निकायको चर्को आलोचना भइरहेको छ। यो घटनामा प्रहरी प्रधान कर्यालयले एसपी रानाभाटलाई जिम्मेवारीबाट हटाए पनि सशस्त्र मुख्यालयले भने धनुषाका एसपी नरेन्द्र सेनलाई यो समाचार लेख्दासम्म जिम्मेवारीमुक्त गरेको छैन। यद्यपि, सेनलाई पनि जिम्मेवारीमुक्त गर्न सशस्त्र मुख्यालयमाथि चर्को दबाब छ। याे खबर आजकाे राजधानी दैनिकले छापेकाे छ।

साताकाे चर्चित
सम्बन्धित