पाँचथर । पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस दुर्घटनाका घाइतेमध्ये दुई जनाको मृत्यु भएको हो ।
फिदिम नगरपालिका ४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा भएको दुर्घटनाका घाइतेमध्ये एक बालक र महिलाको उपचारको क्रममा समर्पित अस्पतालमा मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन ।
घाइतेमध्ये १५ बढीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेको पाँचथरका विभिन्न अस्पतालमा उपचार भइराखेको छ । गम्भीर घाइतेलाई झापा र विराटनगर रिफरको तयारी भइराखेको छ ।
एम्बुलेन्स नहुँदा बिरामीलाई रेफर गर्न समस्या भएको अस्पतालले जनाएका छन् । दुर्घटनाका अधिकांश घाइते कुम्मायक गाउँपालिकाका छन् ।
४४ सिट क्षमताको बसमा ६० भन्दा धेरै यात्रु रहेको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल रहेको अर्को गोलाइमा पुगेको छ ।