महाकाली डुंगा दुर्घटना: बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि
महाकाली डुंगा दुर्घटना: बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि
    • बेल संचार

    • १२ कार्तिक २०७८, शुक्रबार

बैतडी । महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ । डुंगा दुर्घटनामा परी मृत्यु भएका शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने भारतमै अन्तेष्टि गरिएको छ । बिहीबार बिहान महाकाली नदीको पारि भारतमा मीनाको शव फेला परेको थियो । महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीबार भारतमै आफन्तले अन्तेष्टि गरेको प्रहरीले जनाएको छ ।

 

 

 

दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । दसैँंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुंगा दुर्घटनामा परेको हो । महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुंगाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुंगाको सहयताले वारिपारि जाने गर्दछन् । सरकार  भने मौन बसेको छ ।

साताकाे चर्चित
सम्बन्धित